सूचनाको शक्ति - The Power Of Information

        

राजनीति

प्रधानमन्त्रीले विश्वासको मत लिने प्रस्ताव संसद् सचिवालयमा दर्ता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत लिने प्रस्ताव संसद् सचिवालयमा दर्ता भएको छ । विश्वासको मत लिने प्रस्ताव कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सभामुखमार्फत संसद् सचिवालयमा दर्ता गराइसकेका सभामुखको सचिवालयले जनाएको छ ।

आज बस्ने प्रतिनिधिसभाको दोस्रो बैठकमा प्रधानमन्त्रीले संविधान बमोजिम विश्वासको मत लिन लागेका हुन् । प्रधानमन्त्री देउवाले विश्वासको मत लिने भएपछि संसदमा प्रतिनिधित्व गरिरहेका दलहरू आन्तरिक गृहकार्यमा जुटेका छन् । प्रतिनिधिसभा बैठकअघि कांग्रेसको संसदीय दलको बैठक दिउँसो २ बजे बस्दैछ ।

पार्टी सत्तामा गएपछि अबको संसदीय भूमिका, विश्वासको मत लिन पार्टीमा ह्वीप जारी गर्ने तथा सरकारलाई प्रभावकारी बनाउने लगायत विषयमा बैठकमा छलफल हुने नेताहरूले बताएका छन् । विकसित पछिल्लो राजनीतिक घटनाक्रमबीच सत्ता सहयात्री दलहरूसँग भएको छलफलका आधारमा आजै विश्वासको मत लिने तयारी भएको देउवानिकट एक नेताले बताए ।

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतवार १२:१८