सूचनाको शक्ति - The Power Of Information

        

प्रधानमन्त्री देउवाले आजै विश्वास लिँदै, यस्तो छ अंकगणित

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संसदबाट आजै विश्वासको मत लिने तयारी थालेका छन् । कार्यव्यवस्था परामर्श समितिको बैठकमा कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आजै विश्वासको मत लिने प्रस्ताव लिएर पुगेका छन् ।

सर्वोच्चको परमादेशपछि प्रधानमन्त्री बनेका देउवाले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान भए पनि आजै लिने तयारी गरेका हुन् । उनले विश्वासको मत पाउन प्रस्तावका पक्षमा १३६ मत आवश्यक पर्छ ।

त्यसका लागि कांग्रेसका ६३ मध्ये ६१ जनाले मत दिन पाउनेछन् । कांग्रेसका दुईजना सांसद निलम्बित अवस्थामा छन् । विजयकुमार गच्छदार र मोहम्मद अफ्ताव आलमले मत दिन पाउने छैनन् । तर, कायम संख्यामा भने उनीहरूको गणना हुनेछ ।

त्यसैगरी, नेकपा माओवादी केन्द्रका ५३ सांसदमध्ये चारजना बर्खास्त भएका छन् । उनीहरू अहिले सांसद पदमा छैनन् । नेकपा (एमाले)मै रहेकाले माओवादी केन्द्रका चार सांसद टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्ट र गौरी शंकर चौधरीलाई माओवादीले बर्खास्त गरेको थियो ।

स्वतन्त्र रूपमा जितेका एक सांसद छक्कबहादुर लामा पनि अहिले माओवादी केन्द्रमै रहेकाले ४९ जनाले मत दिन पाउने छन् । जनता समाजवादी पार्टीमा जम्मा ३२ सांसद रहेका छन् । ३४ मध्ये दुईजना निलम्बित छन् । रेशम चौधरी र हरिनारायण रौनियारले मतदान गर्न पाउने छैनन् ।

त्यसैले ३२ मध्ये अधिकांश सदस्य डा. बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षमा रहेको जनाइएको छ । यसअघि शनिबार बसेको सो समूहको बैठकमा महन्थ ठाकुर र राजेन्द्र महतो समूहका पाँच सांसद उपस्थित भएका थिए ।

नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल समूहमा रहेका २३ सांसदमध्ये अधिकांशले संसद् जोगाउन देउवाको पक्षमा मतदान गर्नुपर्ने निष्कर्ष निकालेका छन् । सो समूहले मतदान नगरे देउवाले विश्वासको मत प्राप्त गर्ने छैनन् । प्रतिनिधि सभामा एमालेका तर्फबाट १२१ सांसद् छन् ।
संसदमा तत्काल कायम संख्या २७१ को बहुमत अर्थात् १३६ मत देउवाले ल्याउनैपर्ने हुन्छ । त्यसका लागि अहिलेसम्म कांग्रेसका ६१, माओवादी केन्द्रका ४९, जसपाका २०, राष्ट्रिय जनमोर्चाका एक सांसद रहेका छन् । तीन पार्टीबाट गरी देउवालाई १३१ जनाले विश्वासको मत दिने निश्चित भएको छ ।

उनलाई संसदबाट विश्वासको मत लिन थप ५ जना सांसद आवश्यक पर्छ । त्यसका लागि उनलाई एमालेको माधव नेपाल समूह वा जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षका सांसदको मत आवश्यक पर्छ । देउवाले विश्वासको मत नपाए संसद विघटन हुन्छ र मुलुकमा चुनाव घोषणा हुनेछ ।

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतवार ११:०५