सूचनाको शक्ति - The Power Of Information

        

अर्थ समाचार

बाँकेमा ८४ प्रतिशत खर्च, राजस्व सङ्कलन २५ अर्बभन्दा बढी

बाँके । बाँके जिल्लामा गत आर्थिक वर्ष २०७७/०७८ मा कुल बजेटको ८४ प्रतिशत खर्च भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय नेपालगन्जका अनुसार गत आवमा जिल्लामा सङ्घतर्फ १८ अर्ब ८५ करोड ८९ लाख ५६ हजार बजेट रहेकामा १५ अर्ब ८५ करोड २० लाख सात हजार रुपैयाँ मात्रै खर्च भएको छ ।

सङ्घको बजेटमा चालूतर्फ ९३ प्रतिशत र पुँजीगततर्फ ७२.६८ प्रतिशत बजेट खर्च भएको छ । चालूमा १० अर्ब ४८ करोड र पुँजीगततर्फ आठ अर्ब ३६ करोड रुपैयाँ बजेट विनियोजन भएको थियो । सङ्घका कार्यालयतर्फ सबैभन्दा कम सङ्घीय खानेपानी कार्यालयले २२.६७ प्रतिशत बजेट खर्च गरेको छ । कार्यालयको बजेट ६३ करोड २५ लाख थियो ।

क्षेत्रीय आयोजना व्यवस्थापन कार्यालयको बजेटमध्ये ४७ प्रतिशत मात्रै खर्च भएको छ । प्रदेशतर्फ तीन अर्ब ४९ करोड रुपैयाँ बजेट रहेकामा दुई करोड ८३ लाख अर्थात् ८१ प्रतिशत बजेट खर्च भएको छ । बजेटमध्ये चालूमा ८२ प्रतिशत र पुँजीगततर्फ ८० प्रतिशत खर्च भएको छ । बाँकेमा राजस्व सङ्कलन भने उत्साहजनक रहेको छ ।

बाँकेका प्रमुख कोष नियन्त्रक प्रेमचन्द्र शर्माका अनुसार सङ्घतर्फ २५ अर्ब ७१ करोड ५१ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ । नेपालगन्ज भन्सार कार्यालयले मात्रै २१ अर्बभन्दा बढी राजस्व सङ्कलन गरेको छ । प्रमुख कोष नियन्त्रक शर्माले भने, ‘राजस्व सङ्कलन सुरुवातदेखि नै उत्साहप्रद भयो । अधिकांश कार्यालयमा लक्ष्यभन्दा बढी असुली भएको छ । प्रदेशतर्फ ८९ करोड ८६ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ ।’

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतवार ०९:३४