सूचनाको शक्ति - The Power Of Information

        

राजनीति

नेकपा एमाले केन्द्रीय कमिटी बैठक बस्दै, नेपाल पक्ष उपस्थित होला ?

काठमाडौं ।  नेकपा (एमाले) को स्थायी कमिटी बैठक बस्दै छ।

ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा आज (आइतबार) बिहान ११ बजे बैठक बस्ने पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो।

उहाँले भोलि (सोमबार) बस्ने केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गर्न र विधान अधिवेशनको तयारी गर्नका लागि बैठक आयोजना गरिएको बताउनुभयो ।

बैठकमा माधव नेपाल पक्षलाई पनि खबर पठाइएको उहाँको भनाइ छ । शनिबार विहान बसेको नेकपा एमालेका दोस्रो तहका नेताहरुको बैठकले पार्टीलाई एकतावद्ध बनाउन सम्पूर्ण ध्यान केन्द्रित गर्ने निष्कर्ष निकालेको थियो ।

भोलि सोमबार १४औँ केन्द्रीय कमिटी बैठक तुल्सीलाल स्मृति प्रतिष्ठानमा बिहान ११ बजे बोलाइएको छ। उहाँका अनुसार पार्टी संरचना २०७५ जेठ २ गते अगाडि फर्काउँदै आइतबारको बैठकमा नेपाल पक्षका नेतालाई समेत डाँकिएको छ।

एमालेले यही साउन २५ देखि २७ गते विधान अधिवेशन गर्ने निर्णय गरेको छ। गत शुक्रबार पनि एमाले स्थायी कमिटी बैठक बसेको थियो। शुक्रबारको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको सहभागिता रहेको थिएन।

सो बैठकले पार्टीको विवाद समाधान गर्न गठित कार्यदलले बुझाएको १० बुँदे सहमतिलाई अनुमोदन गरेको थियो।

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतवार ०९:०८