सूचनाको शक्ति - The Power Of Information

        

राजनीति

माधव नेपाललाई प्रचण्डले सोधे, सरकारमा सहभागी हुने कि नहुने ?

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई उनकै निवास कोटेश्वर पुगेर शनिबार दिउँसो भेटेका छन् । दिउँसो साढे १ बजे कोटेश्वरस्थित नेपाल निवास छिरेका प्रचण्ड साढे २ बजे त्यहाँबाट बाहिरिएका थिए ।

शुक्रबारमात्रै विघटित एमाले कार्यदलका सदस्यहरूबीच सिंहदरबारमा वार्ता भएलगत्तै प्रचण्ड कोटेश्वर पुगेका हुन् । पछिल्लो पटक सिंहदरबारमा बसेको सत्तारुढ पाँच दलीय गठबन्धनको बैठकमा नेता नेपाल अनुपस्थित भएका थिए । उक्त बैठकमा नेता नेपालले आफ्नोतर्फबाट विजय पौडेललाई पठाएका थिए ।

त्यसपछि शुक्रबार बसेको स्थायी कमिटी बैठकले असार २७ मा जुटेको १० बुँदे सहमतिलाई अनुमोदन गर्दै एमाले मिलाउन जेठ २ मा गठित कार्यदललाई विघटन गरिदिएको थियो । एमालेले कार्यदलको सहमति अनुमोदन गरेर पार्टीलाई एकतापूर्वक अघि बढाउने निर्णय गरेको भोलिपल्ट सत्तारुढ गठबन्धनमा नेपालको खोजी गर्दै प्रचण्ड कोटेश्वर पुगेका हुन् ।

करिब एक घण्टा लामो संवादका क्रममा दुई नेताबीच आइतवारदेखि सुरु हुने प्रतिनिधिसभा बैठक, त्यसमा प्रस्तुत हुने सम्भावित रणनीति र शेरबहादुर देउवा नेतृत्वको सरकारमा नेपाल पक्ष सहभागी हुने विषयमा कुराकानी भएको स्रोतले जनाएको छ । प्रचण्डले भेटका क्रममा नेता नेपालसँग सरकारमा आउने नआउने विषयमा प्रश्न गरेका थिए ।

उनले सरकारमा सहभागी हुने विषयमा सोधीखोजी गरेपछि नेता नेपालले एमालेमा देखिएको विवाद मिलाउन अझै पनि कुरा भइरहेकाले तत्कालै त्यसबारे सोचिनसकेको जवाफ दिएको बताइएको छ । यद्यपि असार २८ को सर्वोच्चको परमादेशपछि सत्ताच्यूत भएका एमाले अध्यक्ष केपी शर्मा ओलीले अब नेता नेपालका लागि पार्टीमा कुनै ठाउँ नरहेको बताइरहेका छन् ।

यस्तो अवस्थामा विघटित कार्यदलका सदस्यसँगै एमालेका दोस्रो तहका नेताहरु विवाद निरुपणमा जुटिरहेका बेला नेता नेपालले सरकारमा जानेबारे अहिले नै निर्णय गरिनसकेको जवाफ प्रचण्डलाई दिएको स्रोतले उल्लेख गरेको छ । पाँच दलीय गठबन्धनमा एमालेको नेता नेपाल देउवा सरकार टिकाउने कुरामा निर्णायक छ ।

नेपाल पक्षमा रहेका २३ मध्ये आधाभन्दा धेरै सांसदले देउवालाई साथ दिएको अवस्थामा उनले विश्वासको मत पाएर अबको डेढ वर्ष ढुक्कले सरकार चलाउन पाउनेछन् । तर ओली पक्षसँगको संवाद अझै पनि जारी रहेकाले एमाले मिल्ने सम्भावना बाँकी नै छ । शनिबारै सिंहदरबारमा बसेको विघटित कार्यदल सदस्यको बैठकपछि नेताहरु गोकर्ण विष्ट र सुवास नेम्वाङले १० बुँदे सहमति कार्यान्वयन हुन सकेमा एमाले एक भएर अघि बढ्ने बताएका छन् ।

प्रकाशित मिति : २ श्रावण २०७८, शनिबार १७:००