सूचनाको शक्ति - The Power Of Information

        

विशेष अदालतका चार न्यायाधीशको अचानक सरुवा

काठमाडौं । विशेष अदालतका चार न्यायाधीशको अचनाक सरुवा भएको छ । विशेष अदालतका चार न्यायाधीशको काज सरुवा गरिएको हो । ललिता निवास जग्गा प्रकरणमा पक्राउ पुर्जी जारी भइ विगत डेढ वर्षदेखि फरार रहेका नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारलाई धरौटीमा रिहा गरेलगत्तै विशेष अदालतका अध्यक्षसहित चार न्यायाधीशको अचानक सरुवा गरिएको हो ।

स्रोतका अनुसार चारै जनाको न्यायाधीशको सरूवा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले गरेका हुन् । बुधबार मात्रै गच्छदारको मुद्दामा सुनुवाइपछि आदेश दिएका अध्यक्ष आफैं सरुवा भएका छन् । बुधबार बिशेष अदालतका अध्यक्ष न्यायाधीश प्रेमराज कार्की, न्यायाधीश अब्दुल अजिज मुसलमान र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले गच्छदारलाई धरौटीमा छाड्ने आदेश दिएको थियो । त्यसको पर्सिपल्ट नै अध्यक्ष अध्यक्ष प्रेमराज कार्कीलाई इलाम सरुवा गरिएको छ ।

यस्तै न्यायाधीश बालेन्द्र रुपाखेतीलाई पाटन अदालतमा, न्यायाधीश शान्ति सिंह थापालाई राजविराज अदालतमा, न्यायाधीश चन्द्रबहादुर सारुलाई सुर्खेत अदालतमा सरुवा गरिएको छ । विशेष अदालतमा अध्यक्षसहित ६ जना मात्र न्यायाधीश हुन्छन् । यीमध्ये अध्यक्षसहित चार जना न्यायाधीशको एकैपटक सरुवा भएपछि अब विशेषमा दुई न्यायाधीशहरु अब्दुल अजिज मुलसमान र नित्यानन्द पाण्डेय छन् । यी दुवै गच्छदारको मुद्दामा सुनुवाइ गर्ने न्यायाधीश हुन् ।

प्रकाशित मिति : २ श्रावण २०७८, शनिबार १६:३१