सूचनाको शक्ति - The Power Of Information

        

समाचार

नेपालगन्ज मेडिकल कलेजका स्वास्थ्यकर्मी तीन महिनादेखि तलबविहीन

बाँके । नेपालगन्ज मेडिकल कलेजका स्वास्थ्यकर्मीले तीन महिनादेखि तलब नपाएको गुनासो गरेका छन् । कोभिड–१९ को महामारीमा खटिने स्वास्थ्यकर्मीलाई जोखिम भत्तासमेत दिनुपर्नेमा आफूहरूले तीन महिनाभन्दा बढी समयदेखि तलबसमेत नपाएको गुनासो स्वास्थ्यकर्मीको छ । तीन महिनादेखि तलब नपाउँदा समस्या भएको नर्सिङ अधिकृत सुमन गिरी श्रेष्ठले बताइन् ।

उनले काम गराउने बेला दिनरात नभनी काम गराउने तर तलब माग्दा समयमा कहिल्यै पनि नदिएको जनाउँदै अहिले कोरोना सङ्क्रमणको बेला झन् ढिलो हुँदा घर चलाउन सकस परेको बताए । आर्थिक वर्ष सकिए पनि मेडिकल कलेजका १४ सयभन्दा बढी स्वास्थ्यकर्मी र कर्मचारीले तीन महिनादेखि तलब नपाउँदा निकै समस्यामा परेको उनीहरूको भनाइ छ ।

महिनौँसम्म तलब नदिँदा घर खर्च चलाउन धेरै समस्या परेकाले तत्काल तलब दिनुपर्ने उनीहरूको माग छ । उनीहरूको मेडिकल कलेजले आफ्ना सबै सेवा सुचारु गरे पनि लामो समयदेखि कर्मचारीलाई तलब नदिएकोमा अधिकांश स्वास्थ्यकर्मी र कर्मचारी पीडित बनेको बताए । करिब एक महिनाअघि मेडिकल कलेजका कर्मचारीले तलबभत्ता समयमा उपलब्ध गराउनुपर्ने लगायतका माग राखेर कलेज व्यवस्थापनलाई ज्ञापनपत्रसमेत बुझाएका थिए ।

तर ज्ञापनपत्रमाथि पनि कुनै ध्यान नदिइएको कलेजका कर्मचारी केपी घिमिरे यात्रुले बताए । उनले जोखिम र सङ्कटको अवस्थामा पनि सेवालाई निरन्तरता दिने स्वास्थ्यकर्मी र कर्मचारीलाई समयमा तलबभत्ता उपलब्ध नगराउनु गम्भीर विषय भएको बताए । कोभिड महामारीको समयमा आफ्नो ज्यानको प्रवाह नगरी काम गरिरहेको अवस्थामा बैशाखदेखि तलब खान नपाएकोले बाध्य भएर आन्दोलन गर्नुपरेको कर्मचारी कृष्णबहादुर बुढाले बताए ।

उक्त संस्थामा रहेका ट्रेड युनियनहरु र संस्थाले प्रत्येक महिना बितेको ५ दिनभित्रमा तलव खुवाउने भन्ने लिखित सहमति गरिएकोमा संस्थाले त्यसलाई लागू नगरेको नर्सिङ अधिकृत गिरीले बताइन् । मेडिकल कलेजमा रहेका तिनवटा ट्रेड युनियनहरुले व्यवस्थापन पक्षसँग तलव वृद्धि लगायतका मागहरू राखि ७ बुँदे मागपत्र असार ९ गते बुझाएको नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनका अध्यक्ष मुनिर खानले बताए ।

भोकभोकै काम गर्न नसकिने भन्दै स्वस्फूर्त रुपमा कर्माचारीहरु आन्दोलित भइ लेखा, प्रशासन शाखा र प्रवन्धक सञ्चालकको कार्यकक्षमा तालाबन्दी गरेर स्वास्थ्यकर्मी तथा कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । कोरोना महामारीको बेला दिनरात बिरामीको सेवामा खटिएका नर्सले समेत महिनौँसम्म न्यूनतम पारिश्रमिक पाउन नसक्नु दुःखद भएको नर्सिङ सङ्घ बाँकेकी अध्यक्ष लक्ष्मी वलीले बताइन् ।

एएनएम पदका लागि सरकारले न्यूनतम २२ हजार ५०० रुपैयाँ पारिश्रमिक तोकेको भए पनि जिल्लामा नर्सले अधिकतम १५ हजार रुपैयाँ तलबमा काम गर्नुपर्ने बाध्यता रहेको तथा सो पनि समयमा नपाउँदा समस्या पर्ने गरेको अध्यक्ष वलीले बताइन् । आन्दोलनरत कर्मचारी तथा स्वास्थ्यकर्मीहरुले बाँकी तलब र जोखिम भत्ता एकमुष्ट पाउनुपर्ने माग गरेका छन् । माग सम्बोधन नभए थप सशक्त आन्दोलन चर्काउने चेतावनी दिएका छन् ।

समयमा तलबभत्ता नदिइएको बारेमा कलेज व्यवस्थापनसँग जानकारी माग्दा मेडिकल कलेज शिक्षण अस्पतालका सह–निर्देशक डा.नितेश कनोडियाले अस्पतालले एकमुष्ट तलवभत्ता दिने अवस्था नरहेको बताएको छ । कोभिड महामारीका कारण अस्पताल घाटामा रहेको भन्दै एकमुष्ट तलबभत्ता दिन सक्ने अवस्थामा अस्पताल प्रशासन नरहेको बताए । उनले अहिले अस्पताल ५० करोड घाटामा रहेको पनि दावी गरे ।

सह–निर्देशक डा.कनोडियाले कोरोनाका कारण आर्थिक कारोबार घटेपछि कोहलपुर र नेपालगन्जमा कार्यरत १४ सयभन्दा बढीलाई तलब खुवाउन ढिला भएको बताए । स्वास्थ्यकर्मीको मात्रै करिब सात करोड रुपैयाँ बराबर तलब भुक्तानी गर्न बाँकी छ । ‘तलबभत्ता नदिने भनेका छैनौं,’ उनले भने, ‘अस्पतालको अबस्था पनि बुझ्नुपर्छ । लोनको प्रोसेसमा छौं, साउनको पहिलो सातासम्म एक महिनाको तलब पाउनुहुन्छ ।’ तलबभत्ता मात्र नभई अन्य सामग्रीको खर्च पनि उठाउन नसक्ने अवस्थामा कलेज पुगेको डा.कनोडियाको भनाइ छ ।

प्रकाशित मिति : २ श्रावण २०७८, शनिबार ०८:४७