बाँके । बाँकेको सबैभन्दा पिछडिएको मानिने नरैनापुर गाउँपालिकामा निर्माण गरिने ‘नरैनापुर औद्योगिक ग्राम’को डीपीआर (विस्तृत परियोजना प्रतिवेदन) तयार पारिएको छ । नरैनापुर ४ खोदवामा करिब ४७ करोडको लागतमा ३७ विघा क्षेत्रफलमा औद्योगिक ग्राम निर्माण गर्नका लागि एरिकम ईन्जिनियरिंग सर्विस ललितपुरले डीपीआर तयार पारेर बुझाएको छ ।
नरैनापुर गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहमद शाहले नरैनापुर जिल्लाको मात्र नभई यस क्षेत्रकै सबैभन्दा पिछडिएको क्षेत्र भएकोले यहाँ निर्माण हुन लागेको औद्योगिक ग्रामले यस पालिकाको मुहारनै फेर्ने दावी गरे । ४६ करोड ७९ लाख ९८ हजारको लागतमा ३७ विघा क्षेत्रफलको औद्योगिक ग्राम भित्र विभिन्न भौतिक पूर्वाधारहरु निर्माण गर्नेगरि डीपीआर तयार गरिएको एरिकम ईन्जिनियरिङ्ग सर्विसका प्रबन्ध निर्देशक मन्दिपकुमार ठाकुरले बताए ।
उनले औद्यौगिक ग्रामभित्र पहिलो चरणमा प्रशासनिक भवन, हेल्थ पोष्ट, गार्ड रुम, पार्क, बाटोहरु, खानेपानी, विद्युतीकरण लगायतका कामहरु गरिने बताए । औद्योगिक ग्राममा ठुला, मझौला तथा साना गरेर १५० उद्योग सञ्चालन हुने प्रबन्ध निर्देशक ठाकुरले बताए । सरकारले देशभरिका सबै स्थानीय तहहरुमा औद्योगिक ग्राम बनाउने कार्यक्रम अन्तरगत बाँकेको खजुरा र नरैनापुर गाउँपालिकामा औद्योगिक ग्राम निर्माण गर्ने निर्णय गरेको थियो ।
स्थानीय सिप, कच्चा पदार्थको प्रयोग गरी सञ्चालन हुने उद्योगलाई प्रोत्साहन गर्न औद्योगिक ग्रामको निर्माण थालिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले बताए । उनले डीपीआर बमोजिम बजेट आउन थाल्ने वित्तिकै निर्माणका कामहरु तीव्र गतिमा शुरु गराइने पनि बताए । औद्योगिक ग्राम निर्माणका लागि व्यवस्थापन गरिएको ३७ विघा जग्गालाई तारवार गर्ने तथा चौकीदार बस्ने घर बनाउने काम सबैभन्दा पहिले गरिने प्रमुख प्रशासकीय अधिकृत बस्नेतले बताए ।
खजुरामा औद्योगिक ग्रामको निर्माण प्रक्रिया अगाडी बढी सकेको छ भने नरैनापुरको डीपीआर तयार गरेर बुझाइएको छ । नरैनापुर गाउँपालिकामा सडक र विद्युत विस्तार भैसकेको र नेपालगन्जबाट धेरै टाढा पनि नरहेकोले औद्योगिक ग्रामले लगानीकर्तालाई ठुलो संख्यामा आकर्षित गर्ने बिश्वास गरिएको नेपालगन्ज उद्योग वाणिज्य संघले जनाएको छ । संघका अध्यक्ष अब्दुल वाहीद मन्सुरीले बाँकेको नौबस्तामा औद्योगिक क्षेत्र, खजुरा र नरैनापुरमा औद्योगिक ग्राम निर्माण भएमा यो जिल्ला पश्चिम नेपालकै प्रमख आर्थिक केन्द्र बन्ने बताए ।
।