सूचनाको शक्ति - The Power Of Information

        

समाचार

राष्ट्रपति कार्यालयले नमानेपछि महान्यायाधिवक्ताको शपथ सर्वोच्चमा

काठमाडौ । नवनियुक्त महान्यायाधिवक्ता खम्मबहादुर खातीले पहिलो पटक सर्वोच्च अदालतमा शपथ लिएका छन् । राष्ट्रपति कार्यालयले नमानेपछि महान्यायाधिवक्ता खातीले सर्वोच्च अदालतमा शपथ लिएका हुन् ।

यसअघि महान्यायाधिवक्ताले राष्ट्रपति कार्यालयमा प्रधानन्यायाधीशबाट शपथ लिने परम्परा रहेको थियो । महान्यायाधिवक्ता खातीले पहिलो पटक सर्वोच्च अदालतमा सवा २ बजे शपथ लिएको महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सञ्जीवराज रेग्मीले जानकारी दिए ।

प्रवक्ता सञ्जीवराज रेग्मीका अनुसार राष्ट्रपति कार्यालयले शीतलनिवासमा शपथ नगर्ने बताएपछि खातीलाई सर्वोच्च अदालतमै शपथ गराइएको थियो । यसअघि महान्यायाधिवक्ताले राष्ट्रपति कार्यालयमा प्रधानन्यायाधीशबाट शपथ लिने परम्परा थियो ।

तर कानुनीरुपमा प्रधानन्यायाधीशसँगै शपथ लिने व्यवस्था रहेकाले अबदेखि राष्ट्रपतिबाट शपथ लिनेबाहेकले शीतलनिवासमा शपथ नगर्ने बताएको छ । यसअघि केपी ओली प्रधानमन्त्री हुँदाका दुवै महान्यायाधिवक्ताले राष्ट्रपति कार्यालयमै शपथ लिएका थिए।

गत चैतमा नियुक्त भएको महान्यायाधीवक्ता रमेश बडालले र त्यसअघि अग्नि खरेलले पनि राष्ट्रपति कार्यालयमा शपथ लिएका थिए । यसपटक भने विगतको परम्परा तोड्दै राष्ट्रपति कार्यालयले सर्वोच्चमै शपथको व्यवस्था गर्न भनेको थियो ।

महान्यायाधिवक्ताले शीतलनिवासमै शपथ हुनुपर्ने भने पनि राष्ट्रपति कार्यालयले कानुनअनुसार प्रधानन्यायाधीशसँगै शपथ लिने व्यवस्था भएको र अब त्यहीअनुसार कार्यान्वयन गर्न भनेपछि सर्वोच्चमा शपथ भएको प्रवक्ता रेग्मीले जानकारी दिए ।

यसअघि लोकसेवा आयोगका प्रमुख र सर्वोच्च अदालतका न्यायाधीशले पनि सर्वोच्चमै शपथ लिएका थिए । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा अधिवक्ता खातीलाई राष्ट्रपतिले बिहीबार महान्यायाधिवक्तामा नियुक्त गरेकी थिइन् ।

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार १४:४८