सूचनाको शक्ति - The Power Of Information

        

अर्थतन्त्रको अवस्था

अर्थमन्त्रीले भने, ‘श्वेतपत्र जारी गर्छौं, बजेट संसदमा टेबुल हुन्छ’

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले देशको अर्थतन्त्रको अवस्थाबारे श्वेतपत्र जारी गरिने बताएका छन् । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा शुक्रबार आर्थिक पत्रकारहरूसँगको भेटघाटमा मन्त्री शर्माले सरकारबाट श्वेतपत्र जारी हुन लागेको जानकारी दिएका हुन् ।

यसअघि केपी ओली नेतृत्वको सरकारले पनि आफ्नो कार्यकालको प्रारम्भमा मुलुकको अर्थतन्त्रबारे श्वेतपत्र जारी गरेको थियो । ‘नेपालको अर्थतन्त्रको ताजा अवस्था अध्ययन गरी श्वेतपत्र जारी हुन्छ,’ अर्थमन्त्री शर्माले भने, ‘अर्थतन्त्रको अध्ययन गर्दैछु, यो सकिएपछि आर्थिक अवस्थाबारे श्वेतपत्र जारी गर्छु ।’

यसैबीच, अर्थमन्त्री शर्माले पूर्ववर्ती सरकारले ल्याएको बजेट नै संसदमा टेबल गर्ने पनि बताएका छन् । ओली सरकारले अध्यादेशमार्फत ल्याएको बजेट चाहिँ के हुन्छ भन्ने पत्रकारहरुको प्रश्नमा अर्थमन्त्री शर्माले साउन ३ गते संसद बैठक बोलाइएको बताउँदै जे गर्नुपर्ने हो, संसदले नै गर्ने बताए ।

कार्यक्रममा उनले भने, ‘बजेट संसदमा साउन ३ गते नै टेबल गर्छु, संसदले के गर्छ, त्यही ढंगले अघि बढ्छु ।’ संसदले संशोधनसहित अहिलेकै बजेट कार्यान्वयन गर्न भन्यो भने त्यहीअनुसार आफू अघि बढ्ने उनले बताए । ओली सरकारले ल्याएको बजेट संशोधन हुने चर्चा चलिरहेका बेला मन्त्री शर्माले यसबारे संसदले नै निर्णय लिने बताएका हुन् ।

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार १४:३७