सूचनाको शक्ति - The Power Of Information

        

राजनीति

ओली समूहबाट माधव समूहमाथि ‘थ्रेट’को अनुमानपछि सुरक्षा बढाइयो

काठमाडौं । नेपाल प्रहरीले नेकपा एमालेका अध्यक्ष केपी ओली समूहबाट एमालेकै वरिष्ठ नेता माधव नेपाल समूहमाथि सुरक्षा थ्रेट बढेको निस्कर्ष निकालेको छ । ओलीनिटक युवाका गतिविधि माधव नेपाल समूह लक्षित भएपछि प्रहरीले यस्तो निस्कर्ष निकालेको हो ।

नेकपा एमालेको विवाद उत्कर्षमा छ । यस्तो अवस्थामा माधव समूहका नेता र सासंदमाथि ओली समूहबाट आक्रमण हुनसक्ने भन्दै सुरक्षा सतर्कता बढाइएको छ । प्रहरीले माधव नेपाल, झलनाथ खनाललगायत नेता र सो समूहका सबै सासंदहरुको निवास वरपरको सुरक्षा बढाएको एक उच्च अधिकारीले बताए ।

ती उच्च अधिकारी भन्छन्, ‘ओली समूहबाट माधव समूहका नेताहरुमाथि थ्रेटको अनुमान हामीले पनि गरेका छौं । केही सूचना पनि आएका छन् । त्यसैले सबैको सुरक्षामा ध्यान दिएका छौं । पहिलेभन्दा चनाखो भएका छौं ।’ उपत्यकामा मात्रै नभई देशभर माधव समूहका कार्यकर्तामाथि ओली समूहबाट आक्रमण हुनसक्ने प्रहरीको अनौपचारिक निस्कर्ष छ ।

प्रहरीले राजनीतिक घटनाक्रम लगायतलाई मध्यनजर गर्दै विगतभन्दा अहिले सूचना संकलनमा समेत निकै तिव्रता दिएको छ । जसका लागि सादा पोशाकका प्रहरीसमेत विगतभन्दा बढी संख्यामा खटाइएको छ । संसद पुर्नस्थापना भएसँगै ओली समूह माधव समूहविरुद्ध निरन्तर प्रर्दशन गर्दै आएको छ ।

ओलीले वालुवाटार छाडेकै दिन माधव नेपाललाई एमालेमा कुनै स्थान नभएको बताएका थिए । लगत्तै ओली समूहका युवाले कोटेश्वरमा माधव नेपालको पुत्ला जलाएका थिए । उनीहरुले माधव नेपालको निवास घेराउ गर्ने योजना बनाए पनि प्रहरीले असफल पारेको थियो । यसबाहेक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवासको सुरक्षा पनि बढाइएको छ ।

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार १४:१०