सूचनाको शक्ति - The Power Of Information

        

स्वास्थ्य

कीटजन्य रोगको उच्च जोखिम, नरैनापुरमा फेरि बढ्यो मलेरिया

बाँके । बाँके जिल्ला कीटजन्य रोगको उच्च जोखिममा परेको छ । त्यसमा पनि डेङ्गु र औलोको जोखिम सबैभन्दा बढी रहेको स्वास्थ्यकर्मीले जनाएका छन् । जिल्लाको नरैनापुर गाउँपालिका औलोको अत्यधिक जोखिममा रहेकाले जोखिम नियन्त्रण गर्न तत्काल अभियान सञ्चालन गर्नुपर्नेमा स्वास्थ्यकर्मीको जोड छ ।

स्वास्थ्य कार्यालय बाँकेका कीटजन्य रोग फोकल पर्सन रत्नलाल शर्माले कीटजन्य रोग खास गरेर लामखुट्टेको टोकाइबाट हुने रोगको बाँकेमा सबैभन्दा ठूलो जोखिम रहेको बताए । उनका अनुसार आर्थिक वर्ष २०७६/०७७ मा ९१ जनामा डेङ्गु देखिएको थियो भने २०७५/०७६ मा २४ जना डेङ्गुका बिरामी फेलापरेका थिए ।

सन् २००६ मा बाँकेमा पहिलो पटक डेङ्गुका बिरामी फेलापरेका थिए । डेङ्गु, मलेरिया, कालाजार, स्क्रब टाइफस लगायतका कीटजन्य रोगका कारण बाँके जिल्ला उच्च जोखिममा रहेको छ । नरैनापुरमा गत आर्थिक वर्षमा ४२ जनामा औलो भेटिएको जनाउँदै शर्माले आफूहरूले नियन्त्रणका लागि हरसम्भव प्रयास गरिरहेको बताए ।

जिल्लामा चालू आर्थिक वर्षमा पाँच जना डेङ्गुका बिरामी भेटिएको जानकारी फोकल पर्सन शर्माले दिए । नेपालगन्ज उपमहानगरपालिका–१८, कारकाँदोस्थित एउटा ग्यारेजमा काम गर्ने मजदुर र पाहुनामा डेङ्गु देखापरेको स्वास्थ्य कार्यालय बाँकेका कीटजन्य रोग फोकल पर्सन शर्माले जानकारी दिए ।

उनले अझै पनि डेङ्गु र औलो धेरैमा हुनसक्ने आशङ्का गर्दै त्यसका लागि परीक्षण गर्नु आवश्यक रहेको बताए । बाँकेकै नरैनापुर गाउँपालिकामा फेरि मलेरिया बढेको छ । जिल्लाका अन्य स्थानीय तहभन्दा नरैनापुरमा मलेरिया सङ्क्रमितको सङ्ख्या अधिक देखिएको छ । गत वर्ष साउनदेखि असारसम्म जिल्लाभर ४२ जनामा मलेरिया देखिएकोमा ३५ जना नरैनापुर गाउँपालिकाका नागरिक रहेका छन् ।

स्वास्थ्य कार्यालयका कीटजन्य रोग फोकल पर्सन शर्माका अनुसार राप्तीपारिको नरैनापुर गाउँपालिका र आसपासका क्षेत्रमा एक दशकअघि मलेरियाबाट ३३ जनाको निधन भएको थियो । २०६३/०६४ सालमा फैलिएको मलेरियाको प्रकोपबाट साविक गङ्गापुरको सोनवर्षा, फत्तेपुरको पिप्रहवा र होलियाको चौफेरीमा ३३ जनाको निधन भएको थियो ।

कार्यालयका अनुसार पछिल्लो एक वर्षमा कोहलपुर नगरपालिकामा २ जना, बैजनाथ गाउँपालिकामा ३, राप्तीसोनारीमा १ र डुडुवामा १ जनामा मलेरिया देखिएको छ । मलेरिया देखिएकामध्ये नरैनापुरका १६ र डुडुवाका १ जना गरी १७ जनामा कडाखालको ‘प्लाज्मोडिएम फाल्सिफोरम’ नामक मलेरिया देखिएको छ । डुडुवामा भेटिएका एक जना सङ्क्रमितमा मात्रै स्थानीय सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

बाँकेमा कीटजन्य रोगमध्ये डेङ्गुबाट हालसम्म ५ जनामा सङ्क्रमण देखिएको छ । भेरी अस्पतालमा केही कालाजारका बिरामीको उपचार भइरहे पनि सबै बाँकेभन्दा बाहिरका जिल्लाका बासिन्दा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । बाँकेमा मलेरिया, डेङ्गु र स्क्रब टाइफसका बिरामीको सङ्ख्या देखिन थालेपछि रोग नियन्त्रणका लागि उच्च सावधानी अपनाउन थालिएको छ । सावधानी अपनाउँदै नेपालगन्जमा लामखुट्टेका लार्भा मार्ने काम गर्नुअघि जनचेतनामूलक कार्यक्रम गरिएको छ ।

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार ०९:१४