बुटवल । लुम्बिनी प्रदेश सरकारले प्रदेशसभामा प्रस्तुत बजेट प्रदेशसभाबाट फेल हुने निश्चित भएपछि मध्यराती प्रदेशसभाको अधिवेशन अन्त्य गराएको छ । बजेटका सम्बन्धा सबै प्रक्रिया पुरा गरेर मतदान प्रक्रियामा जानुअघि बहिस्कार गरेर प्रदेशसभाबा बाहिरिएका लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्रीले मध्यरातमा प्रदेश प्रमुख मार्फत प्रदेशसभाको आठौ अधिवेशनको अन्त्य गराएका छन् ।
चालु प्रदेशसभाको अधिवेशनमा बजेट प्रस्तुत भएर छलफलको प्रक्रिया पुरा गरेपछि बिहिबार सभामा सांसदहरुले उठाएका बिषयमा सम्बन्धित विभागीय मन्त्रीसहित मुख्यमन्त्री पोखरेलले जवाफ दिएका थिए । मुख्यमन्त्रीको जवाफी भाषण सकिएलगत्तै सभामा सत्तापक्ष एमालेका प्रमुख सचेतक भुमिश्वर ढकालले सभामुखमार्फत थप छलफलका लागि समयसमेत माग गरेका थिए ।
सभामुख पुर्णबहादुर घर्तीले छलफल गर्न विपक्षी सांसदहरुसँग राय माग्दै गर्दा मुख्यमन्त्री पोखरेल सभाहलबाट बाहिरिएका थिए । मुख्यमन्त्री पोखरेल बाहिरिएसँगै सत्तापक्षका सबै सांसदहरु बैठक कक्ष छाडेर बाहिरिएपछि सभामुखले आधा घण्टाका लागि बैठक स्थगित गरेका थिए । सत्तापक्षको सदन बहिस्कार पछि शुक्रबार दिउँसो १ बजेसम्मका लागि सभामुखले बैठक स्थगित गरेकोमा मुख्यमन्त्री पोखरेलले मध्यराती सभाको अधिवेशन नै अन्त्य गरिदिएका छन् ।
मध्यरातमा सरकारको सिफारिसमा प्रदेश प्रमुखको कार्यालयले अधिवेशन अन्त्य भएको सूचना सार्वजनिक गरेको छ । असार ३१ को मन्त्रिपरिषदको बैठकको निर्णय बमोजिम मुख्यमन्त्री शंकर पोखरेलबाट अनुरोध भईआए अनुसार चालु आठौं अधिवेशनको अन्त्य गरिएको प्रदेश प्रमुख कार्यालयबाट प्रकाशित विज्ञप्तिमा उल्लेख छ । प्रदेशसभाको बिहीबार बजेट पास गर्ने कार्यसूची रहेपनि बजेट पास गर्न बहुमत नपुगेपछि सत्तारूढ दल नेकपाले बैठक बहिस्कार गरेको थियो ।
अधिवेशन अन्त्य गरेसँगै प्रदेश सरकारले अध्यादेशबाट बजेट ल्याउने निश्चित भएको छ । संघीय सरकारका अर्थमन्त्री विष्णु पौडेलले अध्यादेशमार्फत ल्याएको बजेटलाई सर्वोच्च अदालतको संवैधानिक इजलासले असंसदीय र जालसाझी करार दिइसकेको अवस्थामा लुम्बिनी प्रदेशमा पनि संसद छलेर अध्यादेशबाट बजेट आउन लागेको हो ।
।