सूचनाको शक्ति - The Power Of Information

        

विद्यार्थी संगठनले भने, ‘यातायातको भाडा फिर्ता नलिए आन्दोलन’

काठमाडौं । पाँच विद्यार्थी संगठनले ओली सरकारले यातायातमा बढाएको भाडा तत्काल फिर्ता गर्न सरकारसँग माग गरेका छन् । बिहीबार पाँच विद्यार्थी संगठनले विज्ञप्ति निकाल्दै यातायातमा बढाएको भाडा फिर्ता गर्न सरकारसँग माग गरेका हुन् ।

तत्काल भाडा फिर्ता नगरिए आन्दोलनमा उत्रने समेत पाँच विद्यार्थी संगठनले चेतावनी दिएको छ । पाँच विद्यार्थी संगठनले भोलि साउन १ गते यातायात व्यवस्था विभागमा ज्ञापनपत्र पेश गरेपछि आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने नेविसंघका महामन्त्री बल्देव तिमिल्सिनाले जानकारी दिए ।

विज्ञप्तिमा भनिएको छ, ‘सरकारले सार्वजनिक यातायातमा २८ प्रतिशतसम्म भाडाबृद्धि गरेको छ । सरकारको यो निर्णयले नेपालको विद्यार्थी आन्दोलनलाई आक्रोशित बनाएको छ । भाडा बृद्धिको निर्णय तत्काल खारेज नगरिएमा कडा संघर्षमा उत्रिने र त्यसको सम्पूर्ण जिम्मेवार सरकार हुने चेतावनी दिन चाहन्छौं ।’

प्रकाशित मिति : ३१ असार २०७८, बिहीबार १७:०९