सूचनाको शक्ति - The Power Of Information

        

साउन ३ गते संघीय संसद्का दुवै बैठक बोलाउन सिफारिस

काठमाडौं । सरकारले साउन ३ गते आइतबार अपरान्ह ४ बजे संघीय संसदका दुवै सदनको अधिवेशन आव्हान गर्न राष्ट्रपतिलाई सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसदका दुवै प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन आव्हान गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।

त्यसैगरी सत्यनिरुपण तथा मेलमिलाप आयोग र वेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र पदाधिकारीको कार्यवधि एक बर्ष थप गर्ने निर्णय पनि बैठकले गरेको छ । कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले साउन ३ गते आइतबार अपरान्ह ४ बजेका लागि प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन आव्हान गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने र सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र पदाधिकारीको कार्यवधि एक वर्ष थप गर्ने निर्णय भएको जानकारी दिएका हुन् ।

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले असार २८ गते राति १२ बजे राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य गरेकी थिइन् । असार १७ गते सुरु भएको राष्ट्रियसभाको आठौँ अधिवेशन १२ दिन चालु भएकोमा जम्मा ६ वटा बैठक बसेका थिए । अधिवेशन अन्त्य भएको ३ दिनपछि नै वर्तमान सरकारले ३ गतेका लागि अर्को अधिवेशन आव्हान गरेको हो ।

प्रकाशित मिति : ३१ असार २०७८, बिहीबार १६:५९