सूचनाको शक्ति - The Power Of Information

        

सामाजिक सुरक्षा भत्ताको ३९ लाख रकम गायब

बझाङ । बझाङको बुङ्गल नगरपालिका वडा नं. ९ र ११ को सामाजिक सुरक्षा भत्ता बापतको रकम वडा सचिवको कोठाबाटै हराएको छ । नगरपालिकाको वडा नं. ९ र ११ को कार्यालय सचिवको जिम्मेवारी सम्हालेका सचिव वपिन्द्र महतोको कोठाबाट नगरपालिकाको वडा नं. ९ र ११ मा वितरणका लागि राखिएको ३९ लाख रकम २९ गते राति चोरी भएको हो ।

वडा सदस्य धनवीर बोहराको घरमा भाँडामा बस्दै आएको र पैसा पनि सोही घरको कोठाबाट चोरी भएको वडा सचिवले प्रहरीमा निवेदन दिएको इलाका प्रहरी कार्यालय बुङ्गल झापाले जानकारी दिएको छ । घटनाको प्रवृत्ति हेर्दा चोरी भएको भनिए पनि कोठामा तोडफोड गर्ने लगायतको कुनै पनि क्रियाकलाप नभएको पाइएको छ ।

पैसा राखिएको दराजसमेत तोडफोड नभएको हुँदा घटना शंकास्पद देखिएको स्थानीय खडक बोहराले बताए । वडा सचिव महतोसहित घरबेटीलाई सोधपुछका लागि नियन्त्रणमा लिएर प्रहरी अस्थाइ पोस्ट पुतलिलेक र इलाका प्रहरी कार्यालय झापाले अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक लोकेन्द्र सिंह कार्कीले बताए ।

निरीक्षक कार्कीले भने, ‘सचिवले कोठा नजिकै वडा कार्यालय भएकाले आफु करिब ९ बजेतिर नेट चलाउन वडा कार्यालय गएको र पैसा दराजमा राखेर ताला लगाएको बताउँदै आएका छन् । उक्त घरमा सचिव लगायत २ जना कोठा भाडामा बस्ने गरेको र घरबेटी अर्को घरमा बस्ने गरेको बुझ्नमा आएको छ ।

करिब २१ लाख ९१ हजार रकम वितरण गरिसकेको र ३९ लाख वितरणका लागि राखिएको बुझिएको छ । सचिव लगायत घरबेटीलाई सोधपुछ गरी अनुसन्धान गर्ने काम भैरहेको छ ।’ स्थानीयले ताला लगाएको दराजबाट पैसा सुटुक्क राती पैसा चोरी नभई मिलोमतो भएको हुन सक्ने आशंका गरेका छन् । यता वडाका जनप्रतिनिधिलाई बुझ्न खोज्दा सम्र्पक हुन सकेको छैन ।

प्रकाशित मिति : ३१ असार २०७८, बिहीबार ११:०५