सूचनाको शक्ति - The Power Of Information

        

राजनीति

अदालतको फैसलापछि चिसियो ओली–नेपाल सम्बन्ध, अन्योलमा एमाले एकता

काठमाडौं । पार्टीभित्रको विवाद समाधान उन्मुख भएका बेला सर्वोच्च अदालतको फैसलाले केपी शर्मा ओली प्रधानमन्त्रीबाट पदमुक्त भएपछि त्यसको असर एकता प्रक्रियामा पर्ने देखिएको छ । माधव नेपाल समूहका कारण सरकारबाट हट्नु परेको बुझाइमा रहेका एमाले अध्यक्ष ओलीले पार्टीमा माधव नेपाललाई कुनै ठाउँ नदिने बताएपछि एमाले एकता अन्योलमा पर्ने देखिएको छ ।

बुधबार सरकारी निवास बालुवाटार छोडेर निजी निवास बालकोट पुगेका ओलीले कार्यकर्तालाई सम्वोधन गर्दै माधव नेपालले गद्धारी गरेको र उनलाई पार्टीमा कुनै ठाउँ नदिने बाएपछि सहमति उन्मुख भएको एमाले विवाद फेरि बल्झिने देखिएको हो । पहिलो पटक संसद विघटन गर्दा देखिएको चिसिएको ओली–नेपाल सम्बन्ध ओलीले दोस्रो पटक संसद विघटन गरेपछि उत्कर्षमा पुगेको थियो ।

ओलीले दोस्रो पटक संसदविघटन गरेपछि नेपाल समूहले आफ्नै पार्टीका प्रधानमन्त्रीविरुद्ध हस्ताक्षर गरी विपक्षी दलका नेतालाई प्रधानमन्त्रीमा नियुक्त गर्न माग गर्दै सर्वोच्च अदालतको रिट दायर गरेपछि ओली र नेपालको दूरी बढेको थियो । सर्वोच्चको फैसला आउनुअघि नै नेपाल पक्षसँग सहमति गरी हस्ताक्षर फिर्ता लिने लगाउने ओलीको प्रयास असफल भएपनि पार्टी भित्रको विवाद समाधान गर्ने भन्दै दुवै समूहबीच दश बुँदे सहमति भएको थियो ।

तर सर्वोच्चको फैसलाले पदमुक्त भएका ओली पछिल्लो समय नेपालप्रति आक्रोशित छन् र उनले बुधबार नेपाललाई एमालेभित्र ठाउँ नभएको अभिव्यक्ति दिएका हुन् । उनले नेता नेपालले आफ्नो गल्ती स्वीकार गरेर आएपनि पार्टीमा अ नसकिने बताएपछि एमाले एकता अन्योलमा परेको हो । ‘माधव नेपाललाई अब पार्टीमा कुनै ठाउँ छैन, उहाँका हकमा गल्ती कमजोरी स्वीकार गर्ने र आत्मालोचना गर्ने पनि ठाउँ छैन, नेपालका पछाडि लाग्ने अरू व्यक्तिले कमीकमजोरी महसुस गरेर पार्टीको काम गर्न चाहेमा भने पार्टीले ठाउँ दिन्छ,’ उनले भने ।

उनले नेपालका कारण नै आफ्नो सरकार ढलेको आरोप पनि लगाए । नेता नेपालले आफ्नो पार्टीले नेतृत्व गरिरहेको विकासप्रेमी सरकार ढालेको उल्लेख गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाको शपथग्रहण कार्यक्रममा गएको प्रति पनि आलोचना गरे । ओलीसँग सम्बन्ध चिसिएका नेता नेपाललाई अहिले माओवादी केन्द्र र नेपाली कांग्रेसले आफ्नो गठबन्धनमा राख्ने कसरत सुरु गरका छन् । बुधबार प्रधानमन्त्री शेरबहादुर देउवा नेपाललाई भेट्न उनको निवास कोटेश्वर नै पुगेका थिए ।

त्यहाँ प्रधानमन्त्री देउवालले नेपाललाई दल विभाजन सम्बन्धी कानुन ल्याएर पनि नेपाललाई परेको अप्ठेरो फुकाइ दिने आश्वासन दिएका थिए । बुधबार नै नेता नेपाललाई माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पनि भेट गरेका थिए । पछिल्लो समय नेता नेपाल एमाले नेताहरुसँग भन्दा पनि बढी माओवादी र कांग्रेसका नेतासँग नियमित सम्पर्कमा छन्, जुन कुरा अध्यक्ष ओलीलाई मन परेको छैन ।

प्रकाशित मिति : ३१ असार २०७८, बिहीबार ०९:४३