सूचनाको शक्ति - The Power Of Information

        

कोरोना महामारी

सङ्क्रमित घटेपछि स्वास्थ्यकर्मी राहत, सम्भावित तेस्रो लहरको त्रास

कोरोनाको दोस्रो लहर फैलिएका बेला लामो समयसम्म ड्युटी गर्दा थकित अवस्थामा रहेका भेरी अस्पतालका स्टाफ नर्स । फाइल तस्वीर

बाँके । बाँकेमा अहिले दैनिक १० जनाभन्दा कम सङ्क्रमित थपिने गरेका छन् । सङ्क्रमित घट्दै गएपछि चिकित्सक र नर्स लगायतका स्वास्थ्यकर्मीलाई राहत भएको छ ।

केही समयअघि ४०० को हाराहारीमा कोभिड–१९ का बिरामीलाई उपचार सेवा दिएको भेरी अस्पतालमा अहिले ४०/४५ जना मात्रै बिरामी रहेकाले चिकित्सक र नर्स लगायतका स्वास्थ्यकर्मीले धेरै राहत पाएको अस्पताल प्रमुख डा.प्रकाश थापाले बताए ।

उनले मध्य वैशाखयता खानासमेत खाने फुर्सत नपाउने स्वास्थ्यकर्मीले अहिले धेरै आराम महसुस गरिरहेको बताए । सङ्क्रमित घट्दै गएपछि स्वास्थ्यकर्मीलाई आराम मिले पनि सम्भावित तेस्रो लहरको त्रासले उनीहरूलाई झस्काउने गरेको छ ।

तेस्रो लहरको सम्भावना रहेकाले अहिले सो लहरसँग जुध्न स्वास्थ्यकर्मीले विभिन्न योजनासमेत बनाइरहेको अस्पताल प्रमुख डा.थापाको भनाइ छ । भेरी अस्पतालस्थित कोभिड सेक्सनकी इन्चार्ज शीला शर्मालाई एक महिना अघिसम्म एकछिन पनि फुर्सद थिएन ।

उनलाई शैय्या व्यवस्थापनदेखि नर्सिङ स्टाफको ड्युटी मिलाउनै मुस्किल पर्ने गरको थियो, तर अहिले उनले निकै राहत महसुस भइरहेको बताइन् । अस्पतालमा सञ्चालिन कोभिडका चारवटा हलमध्ये अहिले दुईवटा बन्द भइसकेका छन् । सङ्क्रमितको चाप घट्दै गएपछि सबै सेवा सुरु भइसकेको अस्पताल प्रशासनले जनाएको छ ।

नेपालगन्ज मेडिकल कलेजका सह–निर्देशक डा.रोमन किदवाईले वैशाख मध्यदेखि जेठ मध्यसम्म त एकछिन पनि आराम गर्न नपाएको बताए । उनले नेपालगन्जका सङ्क्रमितलाई कलेजको कोहलपुर शिक्षण अस्पतालमा शय्या व्यवस्थापनदेखि अक्सिजन र उपचारका लागि दिनरात काम गर्नुपरेको बताए ।

यस्तै वेस्टर्न अस्पतालका प्रबन्ध निर्देशक डा.राहुल थापाले पनि गत तीन महिनाको समय नेपालगन्ज र आफ्नो अस्पतालका लागि पनि सबैभन्दा बढी कस्टकर समय रहेको बताए । पुनः यस्तो अवस्था नआओस् भनेर सबै अस्पताल र सरकारले अहिलेदेखि नै सबै पूर्वतयारी गर्नुपर्नेमा डा.थापाको जोड छ ।

प्रकाशित मिति : ३१ असार २०७८, बिहीबार ०८:५०