सूचनाको शक्ति - The Power Of Information

        

समाचार

विपत् नियन्त्रण गर्न बाँकेमा १९ वटा हेलिप्याड, सुरक्षाकर्मी तयारी अवस्थामा

फाइल तस्वीर

बाँके । बाँकेमा बाढी र डुबानबाट हुने जोखिम कम गर्नका लागि समयमै पूर्वतयारी गरिसकिएको जिल्ला विपत् व्यवस्थापन समितिले जनाएको छ । देशका विभिन्न स्थानमा बाढीका कारण ठूलो धनजनको क्षति भएको र बाँकेसमेत बाढीको उच्च जोखिममा रहेकाले यस वर्ष पहिलेदेखि नै बाढीबाट सर्वसाधारणलाई जोगाउने पर्याप्त पूर्वतयारी गरिएको छ ।

जिल्ला विपत् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी शिवराम गेलालका अनुसार जिल्लामा सातवटा निकाय एवं सङ्घसंस्थामा विपत् उद्धार सामग्री राख्ने भण्डारण कक्ष रहेको जनाउँदै नेपालगन्ज विमानस्थलमा मानवीय सहायता कक्ष स्थापना गरेर गोदाममा ठूलो परिमाणमा विपत् उद्धार सामग्री राखिएको बताए ।

सो गोदाममा गृह मन्त्रालय, केयर नेपाल र एक्सन एड नेपाल लगायतका सङ्घसंस्थाले विभिन्न किसिमका २२ हजार ७६९ थान सामग्री भण्डारण गरेर राखेको प्रजिअ गेलालले बताए । विपत् व्यवस्थापन समितिका अनुसार नेपालगन्जस्थित नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बाँकेको भण्डारण कक्षमा १०० सेट गैरखाद्यसामग्री तयारी अवस्थामा रहेको छ भने नेपाल खाद्य संस्थान नेपालगन्जमा ३५० मेट्रिक टन खाद्यान्न, साल्ट ट्रेडिङमा ३० हजार मेट्रिक टन नुन मौज्दात छ ।

नेपाल रेडक्रस सोसाइटी उपशाखा गङ्गापुरमा पनि एक सय गैरखाद्यसामग्री मौज्दात रहेको छ । त्यसैगरी, जिल्लाका आठ वटै स्थानीय तहमा १९ वटा हेलिप्याड तयारी अवस्थामा रहेको जिल्ला विपत् व्यवस्थापन समितिका सूचना अधिकृत रुपन ज्ञवालीले बताए । उनका अनुसार राप्तीसोनारी र नरैनापुर गाउँपालिकामा पाँच–पाँच, डुडुवामा तीन, नेपालगन्जमा दुई र अन्य स्थानीय तहमा एक–एकवटा हेलिप्याड रहेका छन् ।

यसैगरी, जिल्लामा १२ वटा रबरबोट पनि तयारी अवस्थामा रहेको ज्ञवालीले बताए । त्यस्तै, बाँकेमा बाढीपीडितको उद्धारमा खटिनका लागि दुई हजार ५५० जना तालिम प्राप्त जनशक्ति तयारी अवस्थामा रहेको समितिले जनाएको छ । समितिका अनुसार नेपाली सेनाका ११५ जना जनशक्ति तालिम प्राप्त छन् । यस्तै, नेपाल प्रहरीसँग १५ जना, सशस्त्र प्रहरीसँग ५० जना र नेपाल रेडक्रस सोसाइटी, बेस, बिगु्रप, बाँके युनेस्को क्लब, आइएनएफ आदि संस्थासँग २७३ जना तालिम प्राप्त जनशक्ति मौजुद रहेका छन् ।

यस बाहेक नेपाली सेनाका एक हजार, नेपाल प्रहरीका ७००, सशस्त्र प्रहरीका ८०० र रेडक्रस सोसाइटी, बेस, बिगु्रप, बाँके युनेस्को क्लब, आइएनएफ आदि संस्थाका ५० जना जनशक्ति उद्धारमा खटिन तयारी अवस्थामा रहेको विपत् व्यवस्थापन समितिका सूचना अधिकृत ज्ञवालीले बताए ।

प्रकाशित मिति : ३१ असार २०७८, बिहीबार ०८:४१