सूचनाको शक्ति - The Power Of Information

        

१० लाख धरौटी बुझाएर गच्छदार रिहा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति तथा पूर्वउपप्रधानमन्त्री विजय गच्छदार १० लाख धरौटी बुझाएर रिहा भएका छन् । बालुवाटार जग्गा प्रकरणमा अख्तियारले उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

विशेष अदालतले आज थुनछेक बहसपछि गच्छदारलाई १० लाख रुपैयाँ धरौटी बुझाउन आदेश दिएको हो । मुद्दाको म्याद बुझ्न पटक पटक अस्वीकार गर्दै आएका गच्छदार अदालतको फरार सूचीमा थिए । अदालतले उपस्थित हुन पटक–पटक दिएको आदेश उल्लंघन गर्दै आएका गच्छदार आफ्नो पार्टी कांग्रेस नेतृत्वको सरकार गठन भएसँगै आज बिहान अदालतमा पुगेका थिए ।

आज अदालतमा पुगेका गच्छदारलाई बयान लिएर मुद्दा प्रक्रिया अगाडि बढाइको विशेष अदालतका सह–रजिष्टार तथा प्रवक्ता विश्वराज पाण्डेयले जानकारी दिए । अदालतले गच्छदारको निवासमा पटकपटक म्याद तामेली टाँस गरेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गच्छदारविरुद्ध ९ करोड ६५ लाख ७६ हजार बिगो माग गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

उनले बालुवाटारमा रहेको सरकारी जग्गा व्यक्तिको नाममा बनाउन मुख्य भूमिका खेलेको आरोप लागेको छ । ललिता निवासको सरकारी जग्गा व्यक्तिको बनाई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा २०७६ माघ २२ गते गच्छदारसहित १७५ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो । गच्छदारले बालुवाटार जग्गा प्रकरणमा आफ्नो कुनै भूमिका नरहेको बताउँदै आएका छन् । भ्रष्टाचारको मुद्दा लागेपछि उनको सांसद पद निलम्बन भएको छ ।

प्रकाशित मिति : ३० असार २०७८, बुधबार १८:३२