काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक अनिश्चित भएको छ । मंगलबार नै बस्ने भनिएको बैठक अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनले स्थगित भएको थियो ।
आजको बैठकको स्थान र समय निर्धारण भइनसकेको कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । ओलीले आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छाड्ने भएकाले बैठक बस्ने सम्भावना कम रहेको तामाङले बताएका छन् । तथापि भ्याइएको खण्डमा आजै बैठक बसेर केन्द्रीय कमिटी बैठकको मिति पनि तय गर्ने उनले बताए ।
बैठकमा पार्टी एकताका लागि कार्यादलमा भएको १० बुँदे सहमति अनुमोदन गर्ने यसअघि बताइए पनि सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेपछि नेपाल–खनाल समूहसँग ओली रुष्ट छन् । ओलीले मंगलबार देशबासीका नाममा गरेको सम्बोधनमा पनि नेपालको आलोचना गरेका थिए । नेपाल–खनाल पक्ष पनि बैठकमा जाने नजानेबारे अझै निर्णयमा पुगिसकेको छैन ।
।