सूचनाको शक्ति - The Power Of Information

        

देउवाको नेतृत्वमा को – को बन्दैछन् मन्त्री? चर्चामा यी नेताको नाम

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मंगलबार पाँचौ पटक प्रधानमन्त्री बन्दैछन्। देउवालाई साँझ ५ बजे प्रधानमन्त्रीमा नियुक्त गर्ने बताइएको छ।

सर्वोच्च अदालतले सोमवार नेपाली कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएसँगै देउवा पाँचौ पटक प्रधानमन्त्री बन्ने बाटो खुलेको हो।

प्रधानमन्त्रीमा नियक्त भएसँगै देउवाले माओवादी केन्द्र, जनता समाजवादी पार्टी सम्मिलित सानो मन्त्रिमण्डल बनाउने तयारीसमेत गरेका छन्। माधव नेपाल समूहको एमाले भने मन्त्रिमण्डल गठनमा सहभागी नहुने भएको छ।

को को बन्दै छन् मन्त्री?

सोमवार विपक्षी ५ राजनीतिक दलको गठबन्धनको बैठकपछि आफूहरु अलग्गिने माधव समूहले जनाएको थियो।

गठबन्धनको बैठकमा मंगलवार नै मन्त्रिपरिषद् गठन गर्ने निर्णयसमेत भएको थियो। यद्यपि आज पनि गठबन्धनको बैठक बस्ने र को को मन्त्री बन्नेबारे छलफलपछि अन्तिम टुंगोमा पुग्नेछ।

नेपाली कांग्रेसबाट पूर्व अर्थमन्त्री ज्ञानेन्द्र कार्की, मीनेन्द्र रिजालदेखि गगन थापासम्मको नाम मन्त्री बन्नेको चर्चामा ल्याइएको छ। यद्यपि मन्त्रीहरुको नाम सभापति देउवाले फाइनल गर्नेछन्।

माओवादी केन्द्रका नेताहरुका अनुसार माओवादीका तर्फबाट मन्त्री छान्ने जिम्मा पार्टीले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ।

शीर्ष नेताकै नेतृत्वमा सरकारमा सामेल हुनेबारे माओवादी भित्र छलफल सुरु भएको छ। त्यसका लागि नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा र जनार्दन शर्माको नाम चर्चामा छ।

पार्टीभित्रको शक्ति सन्तुलन मिलाउन श्रेष्ठलाई प्रचण्डले मन्त्री बनाउने सम्भावना बढी रहेको प्रचण्ड निकट नेताले बताए। जसपा र जनमोर्चाबाट भने मन्त्री बन्ने नेताहरुको नाम चर्चामा ल्याइएको छैन।

प्रकाशित मिति : २९ असार २०७८, मंगलवार ०८:१५