सूचनाको शक्ति - The Power Of Information

        

आजै देउवा प्रधानमन्त्री बन्दै

प्रधानमन्त्रीमा देउवालाई नियुक्त गर्ने तयारी, सानो आकारको मन्त्रिपरिषद् बन्ने

देउवाले आजै शपथ ग्रहण गर्ने

काठमाडौं । सर्वोच्च अदालतको परमादेश पछि राष्ट्रपति विद्यादेवी भण्डारीले आज कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्ने हुनु भएको छ ।

देउवाले आजै शपथ ग्रहण गर्ने पनि तयारी भएको छ । हिजो सर्वोच्च अदालतले २४ घण्टाभित्र देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएको थियो ।

राष्ट्रपति कार्यालयका अनुसार आज बेलुका ५ बजेसम्ममा देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्ने र शपथ गराउने तयारी भएको छ ।

 देउवाले आजै सानो आकारको मन्त्रिपरिषद् बनाउने तयारी गर्नु भएको छ । कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूहबाट सानो आकारको मन्त्रिपरिषद् बनाउने तयारी भएको कांग्रेस नेता बालकृष्ण खाँडले जानकारी दिनुभयो ।

संविधानको धारा ७६ (५) अन्तर्गत बनेका प्रधानमन्त्रीले प्रतिनिधि सभामा ३० दिनभित्र विश्‍वासको मत लिनु पर्ने हुन्छ । अदालतको धारा ७६ (५)अन्तर्गत बनेको प्रधानमन्त्रीलाई विश्वासको मत दिँदा ह्वीप नलाग्ने व्याख्या गरेको छ।

तर, एमालेमा एकताबारे सहमति भएमा झलनाथ खनाल र माधवकुमार नेपाल समूहलाई विश्वासको मत दिन नैतिक सङ्कट पर्नेछ ।

विश्वासको मत नपाए सरकार अल्पमतमा पर्न सक्छ । यस्तो भएमा संविधानअनुसार नै प्रतिनिधि सभा विघटन भएर ६ महिनाभित्र चुनाव गर्नु पर्नेछ ।

सरकार गठनसँगै अब कसरी अगाडि बढ्ने भन्ने विषयमा आज विपक्षी गठबन्धनका नेताहरु छलफलमा जुट्दै छन् ।  माधवकुमार नेपालले भने विपक्षी गठबन्धनमा अब रहन नसक्ने बताउनु भएको छ ।

पार्टीभित्र देखिएको विवाद समाधान गरी मिल्नेतर्फ गएकाले अब आफू विपक्षी गठबन्धनमा बसिरहन नमिल्ने नेता नेपालको भनाइ छ ।

प्रकाशित मिति : २९ असार २०७८, मंगलवार ०७:४६