सूचनाको शक्ति - The Power Of Information

        

कोरोना महामारी

बाँकेमा घट्दै कोरोना सङ्क्रमण, गम्भीर लापरबाहीले अत्यधिक जोखिम

बाँके । दुई महिनाअघि सबैभन्दा पहिले दोस्रो लहरको कोराना ‘हटस्पट’ बनेको बाँकेमा केही दिनयता सङ्क्रमण निकै घटेको छ । सङ्क्रमण घटे पनि अत्यधिक जोखिम बाँकी नै रहेको तथा तेस्रो लहर पनि आउन सक्ने चेतावनी स्वास्थ्यकर्मीले निरन्तर दिइरहँदा नागरिकले भने स्वास्थ्य मापदण्ड पालना गर्ने सवालमा लापरबाही गर्न थालेका छन् ।

कोरोनाको ठूलो जोखिम कायमै रहे पनि स्थानीयले लापरबाही र बेवास्ता गरिरहेकाले यसले गम्भीर सङ्कट आउन सक्ने चेतावनी स्वास्थ्यकर्मीले दिएका छन् । भेरी अस्पतालका वरिष्ठ फिजिसियन तथा कोरोना फोकल पर्सन डा.सङ्केतकुमार रिसालले निषेधाज्ञा खुकुलो पारिएपछि नेपालगन्जमा स्वास्थ्य मापदण्ड पालनामा बेवास्ता बढेको बताए ।

उनले अहिले बजारमा अत्यधिक भीडभाड बढेको, भौतिक दूरीको कुनै ख्याल नगरिएको र अधिकांशले मास्कसमेत लगाउन छाडेको जनाउँदै यस्तै रहने हो भने अवस्था भयावह हुनसक्ने चेतावनी दिए । नेपालगन्ज शिक्षण अस्पतालका सहनिर्देशक डा.रोमन किदवाईले केही दिनदेखि बाँकेमा सङ्क्रमण कम भए पनि पूर्णरूपमा नियन्त्रण भई नसकेकाले सचेत रहनुपर्ने बताए ।

अहिले नेपालगन्जमा काम नभएकाहरू पनि ठूलो सङ्ख्यामा घरबाहिर निस्किन थालेका छन् । चारतिरै पहिलेजस्तै भीडभाड बढेको छ, अधिकांशले मास्क लगाउन छाडेका छन्, स्वास्थ्य मापदण्ड बिलकुलै पालना नगरिँदा फेरि सङ्क्रमण फैलिन सक्ने खतरा बढेको वेस्टर्न अस्पतालका प्रबन्ध निर्देशक डा.राहुल थापाले बताए ।

नेपालगन्ज लगायत बाँकेको अन्य सहरी क्षेत्रका बासिन्दाले सचेतना नअपनाउने हो भने फेरि पनि जोखिम मोल्न तयार रहनुपर्ने उनको भनाई छ । उनले डेढ महिना पहिलेको अत्यन्त कहालीलाग्दो अवस्थालाई यति छिटो बिर्सन नहुने जनाउँदै त्यस्तो अवस्था नदोरियोस् भन्नेतर्फ सबैले समयमै सचेत भएर आ–आफ्नो जिम्मेवारी निभाउनुपर्नेमा जोड दिए ।

जिल्लामा सङ्क्रमित भेटिनेक्रम घटेपछि यस क्षेत्रकै ठूलो निजी अस्पताल मेडिकल कलेजको शिक्षण अस्पताल कोहलपुर र युनाइटेड अस्पतालले कोरोना वार्ड बन्द गरिसकेका छन् । यस क्षेत्रकै ठूलो सरकारी अस्पताल भेरी अस्पताल नेपालगन्ज र वेस्टर्न अस्पतालमा मात्रै कोभिड वार्ड सञ्चालनमा रहेका छन् ।

कोभिडको तेस्रो लहर आउनसक्ने भन्दै भेरी अस्पताल र मेडिकल कलेजले तयारी सुरु गरिसकेको जनाएका छन् । बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले सङ्क्रमण घटे पनि भौतिक दूरी, मास्क लगायतका स्वास्थ्य मापदण्ड पालना गर्न सर्वसाधारणलाई पटक–पटक जानकारी गराइएको भन्दै अटेर गरेको पाइएमा कडा कारबाही थालिने बताए ।

प्रकाशित मिति : २६ असार २०७८, शनिबार १२:२९