सूचनाको शक्ति - The Power Of Information

        

सीमामा रोकिएला तस्करी ?

जिल्ला तानिए ‘नाइके तस्कर’का सारथी ‘सई र असई’, को बन्ला जमुनाहको इन्चार्ज ?

बाँके । सरुवा भएलगत्तै ‘नाइके तस्कर’लाई साथ दिँदै आएका इलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज सई सन्तोष खनाल र असई केशरबहादुर थापालाई जिल्ला प्रहरी कार्यालय तानिएका छन् । ‘नाइके तस्कर’हरुलाई साथ दिँदै सई खनाल र असई थापाको संरक्षणमा सीमा क्षेत्रमा अवैध तस्करी मौलाएपछि उनीहरुलाई जिल्ला तानिएको हो ।

सई खनाल र असई थापाको संरक्षणमा अवैधरूपमा सामान भित्र्याउने तस्करहरूले नेपालगन्जमै गोदाम बनाएर तस्करीका सामान राख्ने र त्यहाँबाट विभिन्न ठाउँमा पठाउँदै आएका थिए । सई खनाल र असई थापाको संरक्षणमा सीमा क्षेत्रबाट अवैधरुपमा भित्रिएको सामान जिल्ला तथा वडा प्रहरीको टोलीले नेपालगन्जबाट नियन्त्रणमा लिँदै आएको थियो ।

कम्दीबाट सरुवा भएर जमुनाह पुगेलगत्तै सई खनालले आफ्नै लाइनका असई थापालाई प्रहरी चौकी खडैचाबाट जमुनाह सरुवा गराउन सफल भएका थिए । नाकाबाट हुने अवैध असुलीको सेटिङ मिलाउँदै सई खनाल र असई थापाकै योजना अनुसार मातहतका प्रहरी कर्मचारीलाई नेमप्लेट हटाएर ड्युटीमा खटाएपछि विवादित बनेका थिए ।

अवैध असुलीका क्रममा आफ्नो नाम सार्वजनिक हुने डरले सई खनाल र असई थापाकै योजना अनुसार मातहतका प्रहरी अधिकारीलाई नेमप्लेट हटाउन लगाएको प्रहरी स्रोतको भनाई छ । मोटो रकमको सेटिङमा कम्दीको इन्चार्जबाटै जमुनाहको इन्चार्ज भएका सई खनालले हप्ता दिन नवित्दै सेटिङ मिलाउन थालेपछि सीमा क्षेत्रमा तस्करी मौलाउँदै आएको थियो ।

उनलाई साथ दिन प्रहरी चौकी खडैचाबाट सरुवा भएर जमुनाह आएका असई थापाले ‘नाइके तस्कर’सँग चाँजोपाँजो मिलाउँदै अवैध सामान तस्करी गराउँदै आएका थिए । सीमा क्षेत्रबाट तस्करी भएर नेपाल भित्रिएको सामान नेपालगन्जका विभिन्न स्थानमा प्रहरीले पक्राउ गर्न थालेपछि तस्करहरु पनि तनावमा परेका थिए ।

उताबाट भित्रिएको सामान नेपालगन्जमा बरामद हुन थालेपछि सई खनाल र असई थापासँग ‘नाइके तस्कर’हरु रिसाएर ‘फायर’ हुँदै लाइन नदिने भन्दै घुर्क्याउँदै आएका थिए । ‘नाइके तस्कर’हरुले लाइन नदिने घुर्की लाएपछि सई खनाल र असई थापाले आफ्ना निकटस्थमार्फत ‘हाकिम’सँग लाइन मिलाउन खोजे पनि विफल भएको स्रोतको भनाई छ ।

सई खनालको ध्यान कसरी सेटिङ मिलाएर पैसा कुम्ल्याउने भन्नेमा केन्द्रीत हुने गरेको प्रहरीभित्रै चर्चा चलिरहेको थियो । सई खनाल र असई थापाकै कारण ‘नाइके तस्कर’हरुको संरक्षणमा सीमा क्षेत्रमा तस्करी मौलाएको आरोप लागेपछि दुवै जनालाई जिल्ला प्रहरी कार्यालय तानिएको बाँकेका प्रहरी प्रमूख एवं प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले पुष्टि गरेका छन् ।

यो पनि पढ्नुस् :

 जमुनाह प्रहरीको ‘लाइन’ पाएपछि सीमामा सल्बलाउँदै ‘नाइके तस्कर’

‘नाइके तस्कर’लाई जमुनाह प्रहरीको साथ, कोठा भाडामा लिएर अवैध सामानको गोदाम

सई खनाल र असई थापाले लाइन दिएकै कारण सीमा क्षेत्रमा तस्करहरु सल्बलाउन थालेका समाचारहरु सत्यपाटीले प्रकाशन गर्दै आएको थियो । सई खनाल र असई थापाले नाकामा असुली धन्दा चलाएपछि दुवै जनालाई जिल्ला तानिएको हो । उनीहरुको ठाउँमा कसलाई पठाउने भन्नेबारेमा अझै टुंगो लागि नसकेको प्रहरी उपरीक्षक अधिकारीले बताए ।

सई खनाल र असई थापा ड्युटी छाडेर रातारात तस्कर कहाँ पुग्ने गरेका खवरहरु विभिन्न सञ्चारमाध्यममा सार्वजनिक भइरहेका थिए । पछिलो समय सइ खनाल र असई थापाले तस्करका नाइके बरकत, मोनु राइ, भौकी, कलिम राई लगायतसँग हिमचिम बढाए खनाल र थापा रातारात ती तस्करसँग कमिशनको मोलमोलाई गर्ने लगायतका काममा व्यस्त थिए ।

इलाका प्रहरी कार्यालय कम्दीबाट सरुवा भएर जमुनाहाको इन्चार्ज सई सन्तोष खनालले प्रहरी चौकी खडैचाबाट सरुवा भएर आएका असई केशरबहादुर थापालाई सेटिङ्गको चाँजोपाँजो मिलाउन जिम्मा दिएको स्रोत बताउँछ । रोजगारीको शिलशिलामा भारत जानेहरुबाट रुपैडियाँमा ट्राभल्ससँग कमिशनमा सेटिङ मिलाएर पठाउने गरेको पनि उनीहरुमाथि आरोप छ ।

प्रहरी उच्च अधिकारीसँगको पहुँच र सेटिङ्गमा कमाउ अड्डा ताक्ने सई खनाल यसअघि इप्रका धामपुर, इप्रका कम्दी हुँदै इप्रका जमुनाहा पुगेका थिए । उनीसँगै असई थापा प्रहरी चौकी खडैचाबाट इप्रका जमुनाहा पुगेलगत्तै उनीहरुकै सेटिङ्गमा तस्करी मौलाउन थालेको थियो । अवैध असुलीमा खनाल र थापाको जोडी प्रहरी वृत्तमा निकै चर्चित छ ।

भारतबाट कुखुरा, अन्डा र चल्लाको आयातमा कडा रोक लगाइए पनि दैनिक सयौँको सङ्ख्यामा कुखुरा र अन्डासमेत भारतबाट अवैधरूपमा भित्रिँदै आएको छ । दैनिकजसो बिहान ३ देखि ६ बजेभित्र सिमाका विभिन्न सहायक नाकाबाट मोटरसाइकल, साइकल र ट्याक्टरमा समेत राखेर अवैधरूपमा कुखुरा, चल्ला र अन्डा नेपाल ल्याउने गरिएको छ ।

‘बिहान ३–४ बजेदेखि नै विभिन्न नाका भएर नेपालगन्जसम्म अवैध सामान भित्रिन्छ । प्रहरीले लाइन दिएपछि ‘नाइके तस्कर’ले १२–१५ वर्षका बालबालिका र वयस्क व्यक्तिहरुमार्फत साइकलमा अवैध सामान भित्र्याउँदै आएका थिए । यसमा प्रहरीको मिलेमतो नभएर कसरी सम्भव हुन्छ,’ नाम नछाप्ने सर्तमा जमुनाहाका एक जना जानकारले भने ।

सीमा क्षेत्रबाट दिनहुँ खाद्यान्न, लत्ताकपडा, मेसिनरी लगायत नुनदेखि सुनसम्म तस्करी हुँदै आएको छ । प्रहरीले कहिलेकाहीँ थोरै मात्रामा सामान बरामद गर्ने गरे पनि मुख्य तस्कर भने अहिलेसम्म समातिएका छैनन् । जमुनाहा प्रहरीले अवैध तस्करीको लाइन दिने गरेकै कारण तस्करहरू लुकेर होइन, देखाएरै तस्करी गर्दै आएको जानकारहरु बताउँछन् ।

प्रकाशित मिति : २६ असार २०७८, शनिबार ११:५७