सूचनाको शक्ति - The Power Of Information

        

दिवंगत आमा–बुवाको नाममा खुलामञ्च

रुकुम पूर्व । पुथाउत्तरगंगा गाउँपालिका–१० तकमा दिवंगत आमा–बुबाको नाममा खुलामञ्च निर्माण गरिएको छ । पुथाउत्तरगंगा–११ घर भई हाल अमेरिका बस्दै आएका गौँप्रसाद बुढा मगर र बिनाकुमारी बुढा मगरले दिवंग आमा–बुवाको नामममा प्रवेश–रामजी स्मृति खुलामञ्च निर्माण गरेका छन् ।

प्रवेश बुढा मगर र रामजी बुढा मगर विनाकुमारीका बुवा–आमा हुन् भने गौँप्रसादका ससुरा–सासु हुन् । स्वर्गीय बुवा–आमाका नामबाटै तकस्थित फुटबल खेल मैदानमा प्रवेश–रामजी स्मृति खुला मञ्च निर्माण गरिएको विनाकुमारीका दाइ भरत बुढा मगरले बताए । बहिनी–ज्वाइँको व्यक्तिगत लगानीमा बुवा–आमाको नाममा समाजको लागि खुलामञ्च तयार गरिएको बुढाले जानकारी दिए ।

तकस्थित फुटबल खेलमैदानमा जुनसुकै आमसभा एवं कार्यक्रम तथा विभिन्न खेलकुद प्रतियोगिता आयोजना हुँदा मञ्चका रूपमा प्रयोग गरिने बुढाको भनाइ रहेको छ । ६५ लाख रुपैयाँ लगानीमा २५ फिटको उचाइ, ४२ फिटको लम्बाइ रहेको खुला मञ्चभित्रै दुई शौचालय, दुई रेस्ट कोठासँगै घेराबारसहित गेट निर्माण गरिँदैछ । गत चैत ५ देखि काम सुरु गरिएकोमा अब गेट निर्माणको काममात्र बाँकी रहेको खुलामञ्च निर्माणका डिजाइनर प्रविन गुरुङले बताए ।

यही महिनाभित्र खुलामञ्च तयार गरी गाउँपालिकालाई हस्तान्तरण गरिने गुरुङले जानकारी दिए । जिल्लामै हालसम्म पनि सरकारको लगानीबाट समेत खुलामञ्च निर्माण गरिएको छैन । जसका कारणले दुर्गम गाउँमा दिवंगत बुबा–आमाको नाममा समाजका लागि खुलामञ्च निर्माणले स्थानीयबासीलाई हर्षित बनाएको छ । २०७४ सालमा पनि पुथाउत्तरगंगा–११ स्थित उत्तरगंगा आधारभूत विद्यालय उपल्लो सेरामा गौँप्रसाद बुढा मगरको दिवंगत बुबाको नाममा आरसीसी तीन कोठाको भवन निर्माण गरेका छन् ।

प्रकाशित मिति : २६ असार २०७८, शनिबार ०८:१२