सूचनाको शक्ति - The Power Of Information

        

कपुरकोटका एक हजार ४०० आमालाई १७ लाख र पोषण वितरण

सल्यान । कपुरकोट गाउँपालिकालले सुनौलो हजार दिनका आमालाई करिब १७ लाख रुपैयाँ र पोषण प्याकेज वितरण गरेको छ ।

गाउँपालिकाका एक हजार ३९८ गर्भवती तथा दुई वर्षमुनिका बच्चाका आमालाई पोषिलो खानेकुरासहित पौने १७ लाख रुपैयाँभन्दा बढी रकम वितरण गरेको हो । सुनौलो हजार दिनका आमालाई पोषिलो खानेकुरा किनेर खानका लागि १६ लाख ७७ हजार ६०० रुपैयाँ वितरण गरिएको गाउँपालिकाले प्रमुख प्रशासकीय अधिकृत मोहन खड्काले जानकारी दिए ।

बच्चाको ८० प्रतिशत वृद्धि विकास गर्भावस्थादेखि दुई वर्षको बिचमा हुने भएकाले सुनौलो हजार दिनका आमाहरुका लागि सन्तुलित र पौष्टिक तत्वयुक्त खानपिनका लागि रकम वितरण गरिएको उनको भनाइ छ । गाउँपालिकाका ६ वटै वडामा रहेका महिलालाई अण्डा र माछामासु खानका लागि जनही एक हजार र गेडागुडी खानका लागि जनही २०० रुपैयाँ वितरण गरिएको खड्काले बताए ।

पोषणको अभावमा कुपोषण हुन सक्ने भन्दै गाउँपालिकाले आफ्नो गाउँपालिकाभित्रका सबै सुनौलो हजार दिनका आमाहरुलाई पोषण प्याकेज उपलब्ध गराएको गाउँपालिका अध्यक्ष भीमबहादुर सेनले बताए । सुनौलो हजार दिनमा आमा र बच्चाको स्वास्थ्यमा टेवा पुर्याउने गरी योजना निर्माण गरेर गाउँपालिकाले विभिन्न क्रियाकलाप सञ्चालन गर्दै आइरहेको उनको भनाइ छ ।

प्रकाशित मिति : २६ असार २०७८, शनिबार ०८:०९