बझाङ । साँझमा धिपधिप बल्ने सोलार । कहिलेकाही बर्षाद हुदाँ सोलारको पावर नभएर फुफु गर्दै झरो बाल्नु पर्ने । सम्साझैं चकमन्न बन्ने गाउँ । सुनसान, एकान्त अनकन्टार । न त बालबालिकाहरुले उज्यालोमा पढ्न पाउँछन् । न त आमा दिदीबहिनीले उज्यालोमा घरधन्दा गर्न पाउँछन् । यसरी नै कैयौं पुस्ताले जीवन बिताएको पिमी गाउँ भनेर चिनिने कैलाशका ३५० घुरधुरीमा बिजुली बत्ती बल्न थालेको छ ।
बझाङको जयपृथ्वी नगरपालिकाको दुर्गम गाँउमा बिजुली पुगेपछि स्थानीय खुसी भएका छन् । नगरपालिका भएको भए पनि बर्षौदेखि झरो र सोलार बालेर दैनिकी चलाउदै आएका जयपृथ्वी नगरपालिका–१ कैलाश (पिमी) गाउँमा बिजुली बलेपछि स्थानीयहरु खुसी भएका छन् । जयपृथ्वी नगरपालिका–१, कैलाशका स्थानीय रविन्द्र विकले गाउँघरमा बिजुली पुग्दा नयाँ युगमा प्रवेश गरेको अनुभूति भएको बताए ।
विकले, भने, ‘गाउँमा बत्ती नहुँदा मोबाइल चार्ज नभएर सम्पर्कविहिन हुनुपथ्र्यो, अब त्यो समस्या हट्यो । अहिले घरघरमा बिजुली बल्दा दैनिक कामकाज गर्न निकै सजिलो भएको छ ।, बल्लतल्ल सडक पुर्याए पनि यहाँका स्थानीयले विजुली बत्ती देख्न पाएका थिएनन् । अन्य क्षेत्रमा बलेको बिजुली हेर्दै रात काट्ने यहाँका स्थानीय आफ्नै गाउँघरमा बिजुली बल्न थालेपछि औधी खुसी लागेको स्थानीय ६२ वर्षीय केशवबहादुर सिंहले बताए ।
सिंहले भने, ‘गाउँमा विजुली बत्ती आउला र विजुली बत्ती बालौला भन्ने आशासम्म थिएन । धेरै ठूलाठूला मान्छेहरु यो गाउँ धुम्न आउँथे, सबैले विजुली ल्याउन पहल गर्छम् भन्थे, हामीलाई आशा देखाउँथे । हाम्रै पालामा विजुली बालौला भन्ने आशा मारिसकेका थियौं । अहिले गाउँमा बत्ती पुगेपछि साँच्चै खुसी लागेको छ ।’ प्रसारण लाइन बैशाखमै पुर्याएर जेठबाट बाल्ने योजना भए पनि केही ढिलाई भएको जयपृथ्वी नगरपालिका १ का वडाध्यक्ष गगनबहादुर सिंहले बताए ।
उहाँले भन्नुभयो, ‘राष्ट्रिय प्रसारण लाइन ल्याउन तथा विद्युत बाल्नका लागि थुप्रै चुनौती र समस्याहरु झेल्नुपर्यो । जेहोस् मेरै कार्यकालमा वडाबासीलाई उज्यालो दिन पाउँदा खुसी लागेको छ ।’ गाउँमा बिजुली पुगेपछि घरमा बिहान बेलुका चुलोचौकाको काम गर्न तथा विद्यार्थीलाई अनलाइन कक्षा लेखपढ गर्न, रेडियो टेलिभिजन हेर्न र सुन्न, कम्प्युटर चलाउन सजिलो भएको छ ।
।