सल्यान । छोटो समयमै राम्रो आम्दानी हुने भएकाले सल्यानका किसानहरु लसुन खेतीतर्फ आकर्षित भएका छन् । चिसो हावापानीमा पनि फस्टाउने र तुषारो पनि सहन सक्ने भएकाले लसुन खेती राम्रो भएको बनगाड कुपिण्डे नगरपालिका–३ च्युरीगैराका वीरवल पुनले बताए ।
लसुनलाई ओसिलो हावापानी आवश्यक पर्ने भएकाले आवश्यक सिंचाईको व्यवस्था गर्न सके उत्पादन अझै बढ्ने उनको अनुभव छ । उनले यस वर्ष पाँच क्विन्टल लसुन बिक्री गरेको बताए । च्युरीगैराका २६ घरधुरीले नै लसुन खेती गर्दै आइरहेका छन् ।
किसान दुर्गाबहादुर पुनले प्रतिक्विन्टल १० हजार रुपैयाँमा घरबाटै लसुन बिक्री गरेको बताए । उनले चार क्विन्टल लसुन बिक्री गरेको बताए । लसुन खेती गर्न सजिलो तथा रोग तथा किराको संक्रमण कम हुने भएकाले उनले बताए ।
तर, उत्पादिन लसुन लामो समयसम्म राख्दा तौल घट्ने, उम्रने तथा कुहिने समस्या आउने भएकाले भण्डारणका लागि उचित ठाउँको व्यवस्था हुनुपर्ने उनले माग गरे । अन्नबाली लगाउँदा ६ महिना पनि खान नपुग्ने किसान लसुनखेती गर्न थालेपछि राम्रो आम्दानी हुन थालेको पुनले बताए ।
उनले भने, ‘हिउँदमा लसुन लगाएर रामै्र आम्दानी गर्न थालेका छौं । अन्नबालीभन्दा धेरै गुणा आम्दानी लसुनबाट हुने गरेको छ ।’ सल्यानमा ५१० हेक्टर क्षेत्रफलमा लसुन खेती हुँदै आइरहेको कृषि विकास कार्यालय सल्यानका सूचना अधिकारी रमेशकुमार बस्नेतलले जानकारी दिए ।
गत आर्थिक वर्ष ३ हजार १५२ मेट्रिकटन लसुन उत्पादन भएको कार्यालयको तथ्यांकमा छ । कम लगानी र मेहनतमा पनि राम्रो फाइदा हुन थालेपछि यहाँका ग्रामीण क्षेत्रमा लसुन खेतीप्रति आकर्षण बढेको उनको भनाइ छ ।
।