सूचनाको शक्ति - The Power Of Information

        

भेरोसेल खोप लिन नेपाल एयरलाइन्सको विमान आज चीन जाँदै

काठमाडौं । कोरोना भाइरस विरुद्धको भेरोसेल खोप ल्याउनको लागि नेपाल वायु सेवा निगमको जहाज आज (बिहिबार) चीन जाँदैछ ।

साँझ चीन जाने निगमको वाइडबडी जहाजले भोलि (शुक्रबार) खोप नेपाल ल्याउने कार्यतालिका छ । आजदेखि साउन ८ गतेसम्म तीनवटा उडानमार्फत खोप ल्याउन लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सरकारले चीनको सिनोफार्म कम्पनीबाट भेरोसेल खोप खरिद गर्न लागेको हो । खोप नेपाल आइसकेपछि ६० वर्षमुनि उमेर समूहकालाई प्राथमिकताका आधारमा लगाउने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै कोभ्याक्स सुविधामार्फत आउने खोप पनि छिट्टै खोप ल्याउने मन्त्रालयले जनाएको छ ।

यसअघि कोभ्याक्समार्फत तीन लाख ४८ हजार मात्र खोप आएको थियो । नेपालमा अहिलेसम्म ४२ लाख ४८ हजार खोप आएको छ ।

नेपालमा १८ वर्षभन्दा माथिका कुल दुई करोड २० लाख जनसङ्ख्यालाई खोप लगाउने लक्ष्य लिइएको छ ।

अहिलेसम्म आठ लाख ५१ हजार ३०० जनालाई दोस्रो मात्रा र २६ लाख ११ हजार ८०७ जनालाई पहिलो मात्राको खोप लगाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २४ असार २०७८, बिहीबार ०८:३९