सूचनाको शक्ति - The Power Of Information

        

एमाले कार्यदलको बैठक आज पनि बस्दै, सहमति जुट्ने विश्वास

काठमाडौं । नेकपा (एमाले) विवाद समाधानका लागि गठित कार्यदलको बैठक आज (बिहिबार) पनि बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने आजको बैठक ‘निर्णायक’ बन्ने बुझिएको छ ।

सोमबारदेखि लगातार बस्दै आएको बैठकले सोमबार, मंगलबार सहमति जुटाउन सकेन भने बुधबारको बैठक सहमति नजिक पुगेर सकिएको थियो ।

बुधबार कार्यदलमा रहेका नेताहरूको पहलमा पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल भएको छ ।

दुई शीर्ष नेताहरुबीच हिजो विभिन्न विषयमा छलफल भए पनि सहमति भने जुट्न सकेन । पार्टीभित्रको शक्ति बाँडफाँड कसरी गर्ने भन्ने विषयमा ओली र नेपालबीच मुख्य विवाद देखिएको छ ।

दुवै पक्षको सहमतिमा बनाइएको युवा नेताहरू सम्मिलित कार्यदलले ओली र नेपाललाई विवाद समाधान गरी पार्टीलाई एकजुट बनाउन उच्च दबाब दिएपछि ओली र नेपाल छलफलमा जुटेका हुन् ।

विवाद समाधान गरी पार्टीलाई एकजुट बनाउन दुवै नेताहरूमा लचक देखिएको एमालेका दोस्रो तहका नेताहरूको भनाइ छ ।

बुधबार बसेको कार्यदलको बैठक सहमति नजिक पुगेको र आज अन्तिम रुप दिइने नेताहरुले बताएका छन् । कार्यदलमा सबै तहका पार्टी र जनसङ्गठनका कमिटीहरु पूर्ववत् अवस्थामा फर्काउने सहमति भएको छ ।

माओवादी केन्द्र छाडेर आएका नेताहरुको व्यवस्थापन लगायतका विषयमा पनि सहमति जुट्न बाँकी छ ।

प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच विवाद बढ्दै गएपछि सहमतिका लागि दुवै पक्षका नेताहरू रहेको कार्यदल गठन भएको हो ।

प्रकाशित मिति : २४ असार २०७८, बिहीबार ०८:३४