सूचनाको शक्ति - The Power Of Information

        

कोपा अमेरिका: कोलम्बियालाई टाईब्रेकरमा हराउँदै अर्जेन्टिना फाईनलमा

एजेन्सी । अर्जेन्टिना कोपा अमेरिका फुटबलको फाईनलमा प्रवेश गरेको छ । बुधबार बिहान कोलम्बियालाई टाईब्रेकरमा हराउँदै अर्जेन्टिना फाईनल प्रवेश गरेको हो ।

खेलमा अग्रता अर्जेन्टिनाले लौटारो मार्टिनेजको गोलबाट लिएको थियो । लियोनल मेस्सीले डिबक्सभित्र उपलब्ध गराएको पासमा मार्टिनेजले गोल गरेका थिए ।

दोस्रो हाफमा लुइस डियाजको गोलमार्फत कोलम्बिया खेलमा फर्किएको थियो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि निर्णय टाइब्रेकरबाट गरिएको थियो । जसमा अर्जेन्टिनाले ३–२ ले बाजी मार्यो ।

टाईब्रेकरमा अर्जेन्टिनाका लागि लियोनल मेस्सी, लौटारो मार्टिनेज र लियनार्दो डेनियल पेरेडेसले गोल गरेका थिए । अर्जेन्टिनाका रोड्रिगो डी पाउलको टाइब्रेकरमा गोल गर्न चुकेका थिए ।

कोलम्बियाका जुआन काउड्राडो र मिगुएल बोरजाको प्रहारमात्र सफल रह्यो । डेभिन्सन साञ्चेज, यारी मिना र इडविन कार्डोनाको प्रयास असफल भएको थियो ।

अर्जेन्टिनाले उपाधिका लागि ब्राजिलसंग प्रतिस्पर्धा गर्नेछ । सन् २०१६ पछि पहिलो पटक अर्जेन्टिना कोपा अमेरिकाको फाईनल पुगेको हो । अर्जेन्टिनाले सन् २००७ पछि पहिलो पटक ब्राजिलसंग फाईनल खेल्न लागेको हो ।

प्रकाशित मिति : २३ असार २०७८, बुधबार १०:१६