काठमाडौं । नेकपा (एमाले) विवाद समाधानका लागि गठित कार्यदलको बैठक आज (बुधबार) पनि बस्ने भएको छ । सोमबारदेखि लगातार बस्दै आएको बैठक सोमबार र मंगलबार सहमति नजुटाई सकिएको थियो ।
सिंहदरबारमा बसेको बैठकमा सहमतिका लागि विभिन्न विकल्पमा छलफल भएको नेताहरूले बताएका छन् । बैठकमा सहमतिका लागि अघि सारिएका विभिन्न विकल्पमाथि छलफल भएको र छलफल सकारात्मक भएको नेताहरूको भनाइ छ ।
बुधबार पनि बैठक बसेर समस्या समाधानका लागि आएका धारणाहरुका आधारमा अघि बढ्ने कार्यदल सदस्य गोकर्ण बिष्टले बताउनुभयो ।
सोमबार पनि कार्यदलबीच छलफल भएको थियो । पार्टीभित्रको विवाद समाधानका लागि अध्यक्ष केपी शर्मा ओली पक्षबाट ५ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबाट ५ गरी १० सदस्यीय कार्यदल बनाइएको थियो ।
कार्यदलमा ओली पक्षबाट संसदीय दलका उपनेता सुवास नेम्वाङ, उपमहासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्यहरू प्रदीपकुमार ज्ञवाली, शङ्कर पोखरेल र विष्णु रिमाल छन् ।
नेपाल पक्षबाट उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण विष्ट, स्थायी कमिटी सदस्यहरू सुरेन्द्र पाण्डे र रघुजी पन्त छन्
।