काठमाडौं । सरकारले देशभरी हुने सबै आन्तरिक र अन्तर्राष्ट्रिय उडान खुला गर्ने निर्णय गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।
अब निषेधाज्ञाअघिकै अवस्थामा जस्तै देशभरीका सबै आन्तरिक र अन्तर्राष्ट्रिय उडान खुला हुने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री लिलानाथ श्रेष्ठले जानकारी दिनुभयो ।
दोस्रो पटक कोरोना संक्रमण फैलिएपछि सरकारले गएको वैशाख २० गतेदेखि आन्तरिक र २३ वैशाखदेखि अन्तर्राष्ट्रिय उडान बन्द गरेको थियो ।
नेपालमा कोरोना संक्रमण तीव्र बनेपछि कतिपय देशले नेपालबाट हुने नियमित उडानमा प्रतिबन्ध लगाएका छन् ।
अब नेपाललाई रोक नलगाइएका मुलुकमा नियमित उडान सुरु गरिने मन्त्री श्रेष्ठले बताउनुभयो । मन्त्री श्रेष्ठका अनुसार सरकारका प्रवक्ताले यस विषयमा आज थप जानकारी दिनुहुने छ ।
।