सूचनाको शक्ति - The Power Of Information

        

मध्यपश्चिम विश्वविद्यालय

परीक्षा नै नलिएर विद्यार्थीलाई पास गराएको आरोपमा उप–प्राध्यापक बर्खास्त

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय इन्जिनियरिङतर्फको स्नातकोत्तर कार्यक्रमका निर्देशक विश्वनाथ यादवलाई विश्वविद्यालयले बर्खास्त गरेको छ । आज विश्वविद्यालयले कानून संकायमा अनियमितता तथा कारवाहीसम्बन्धी भर्चुअलमार्फत पत्रकार सम्मेलनमा बोल्दै विद्यालयका उपकुलपति प्रा.डा.नन्दबहादुर सिंहले बर्खास्त गरिएको बताए ।

उपकुलपति सिंहले भने, ‘अक्षम्य शैक्षिक अपराध भएकाले कार्यक्रम निर्देशक तथा स्थायी उप–प्राध्यापकबाट बर्खास्त हुने गरी विश्वनाथ यादवको नाममा पत्र काटेर दिइएको छ । प्रयोगात्मक कक्षा नै सञ्चालन नगरी मनलाग्दी अंक दिएर विद्यार्थी उत्तीर्ण गराएको पाइएपछि विश्वविद्यालयले कारबाही गरेको हो ।’

यसअघि परीक्षामा भएको अनियमितता छानबिन गर्न प्रा.डा.दीपबहादुर रावलको नेतृत्वमा समिति गठन गरिएको थियो । निर्देशक उप–प्राध्यापक यादवले विश्वविद्यालयको शैक्षिक मर्यादामा आँच आउने गरी शैक्षिक अपराध गरेको छानबिनबाट पुष्टि भएपछि सेवाबाट बर्खास्त गरिएको विश्वविद्यालयले जनाएको छ ।

कार्यक्रम निर्देशक यादवले विद्यार्थीको आन्तरिक मूुल्यांकनतर्फ विषय शिक्षकले पठाएको नम्बर लुकाएर मनलाग्दी रुपमा नम्बर दिएको उजुरी परेको थियो । यस्तै, उनले परीक्षामा सामेल नै नभएका विद्यार्थीलाई पनि पास गराएको पाइएको हो । छानबिन समितिले निर्देशक यादव आर्थिक प्रलोभनमा परी यस्तो काम गरेको निष्कर्षसहित दोषी भएको पुष्टि गरेको थियो ।

परीक्षामा भएको अनियमितताका विषयमा छानबिन गर्न गठित समितिले उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहलाई निर्देशक यादव दोषी देखिएको प्रतिवेदन पेस गरेको थियो । समितिले यादवलाई स्पष्टीकरण पनि सोधेको थियो । स्पष्टीकरणबाट पनि चित्तबुझ्दो जवाफ नआएपछि निर्देशक यादवलाई विश्वविद्यालयले स्थायी उप–प्राध्यापक पदबाटै बर्खास्त गरिएको पत्र काटेको उपकुलपति सिंहले बताए ।

प्रकाशित मिति : २२ असार २०७८, मंगलवार १२:५५