सूचनाको शक्ति - The Power Of Information

        

कोरोना महामारी

बाँकेमा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या बढ्यो

बाँके । बाँके जिल्लामा कोरोना सङ्क्रमित भएकामध्ये १७ हजारभन्दा बढी सङ्क्रमणमुक्त भएका छन् । जिल्ला कोभिड व्यवस्थापन समिति बाँकेले दिएको जानकारीअनुसार हालसम्म जिल्लामा १७ हजार ४७१ जनामा सङ्क्रमण पुष्टि भएकोमा १७ हजार ११० जना सङ्क्रमणमुक्त भइसकेका छन् ।

भेरी अस्पतालको पीसीआर प्रयोगशालामा हालसम्म ८४ हजार ६३९ जनाको परीक्षण गरिएकोमा १७ हजार ४७१ जनामा सङ्क्रमण पुष्टि भएको समितिले जनाएको छ । सङ्क्रमितमध्ये बाँकेका स्थानीय ३११ जनाको मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले बताए ।

उनका अनुसार जिल्लामा हाल ५४ जना सक्रिय सङ्क्रमित रहँदा ४० जना भेरी अस्पतालमा उपचाररत छन् भने २७ जना होम आइसोलेसनमा छन् । अर्कोतर्फ सङ्क्रमित घट्दै गएपछि कोभिड उपचारका लागि कोभिड वार्ड सञ्चालन गरेका मेडिकल कलेज र युनाइटेड अस्पतालले कोभिड वार्ड हालका लागि बन्द गरेका छन् ।

अहिले भेरी र वेस्टर्न अस्पतालमा मात्रै कोभिडका बिरामीको उपचार भइरहेको जनाउँदै त्यहाँ रहेका पनि ८१ प्रतिशत कोभिड शैय्या खाली रहेको कोभिड उपचारको व्यवस्थापनमा खटिएका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठले बताए । उनले वेस्टर्नमा कुनै पनि सङ्क्रमित नरहेको तथा भेरीमा ४० जनाको उपचार भइरहेको बताए । अधिकृत श्रेष्ठले भेरी र वेस्टर्नमा गरेर २१६ कोभिड शैय्यामध्ये १७६ शय्या खाली रहेको जानकारी दिए ।

प्रकाशित मिति : २२ असार २०७८, मंगलवार ०८:००