बाँके । पश्चिम नेपालकै नमसना सहर बन्दै गएको नेपालगन्जका विभिन्न प्रमुख सडक र चोक–चोकमा घोडा, खच्चड, गाईगोरु लगायतका छाडा चौपायाको बिगबिगी बढ्न थालेको छ । सहरका अधिकांश मुख्य चोक र सडक छाडा चौपायाले भरिन थालेपछि सडक दुर्घटनाको त्रास थपिनुका साथै आवागमनमा समस्या भइरहेको छ ।
छाडा चौपायाका विषयमा उपमहानगरपालिकाले ध्यान नदिएकै कारण फेरि समस्या दोहोरिएको र बजार क्षेत्रमा चौपायाको भीड बढेको गुनासो स्थानीयले गर्न थालेका छन् । सहरको मुख्य त्रिभुवन चोकमा सबैभन्दा बढी छाडा घोडा र खच्चर जम्मा हुने गर्दा अहिले त्यहाँ दिनदिनै दुर्घटना हुने गरेको र आवागमनमा अवरोधसमेत भएको स्थानीय सम्पन्न पाण्डेले बताए ।
उनले घोडा–खच्चर पाल्नेले दिनभरि आफ्ना चौपायालाई बजारमा छोड्ने गर्दा पटक–पटक यस्तो समस्या आउने गरेकाले चौपाया धनीलाई कारबाही हुनुपर्ने माग गरे । घोडा, खच्चड र गाईगोरुजस्ता चौपाया पाल्नेले अटेर गरेकै कारण नगरका अधिकांश सडकमा उनीहरूको बिगबिगी भएर मलमूत्रबाट दुर्गन्ध र फोहोर बढ्ने तथा दुर्घटना निम्तिने गरेको छ ।
नेपालगन्जका कपडा व्यवसायी कृष्णप्रसाद श्रेष्ठले यो समस्या समाधानका लागि धेरै पहिलेदेखि प्रयास गर्दै आए पनि समाधान हुन नसकेकोमा दुःख व्यक्त गरे । बजारका पसल र घर अगाडि घोडा, खच्चड र गाईगोरुजस्ता जनावरले फोहोर गर्दा व्यवसायमा पनि प्रभाव परेको त्रिभुवन चोकका व्यवसायी रशिद जसगढले बताए ।
उनले तत्काल यो समस्या समाधान गर्न उपमहानगरपालिकासँग आग्रह पनि गरे । गतवर्ष नै नेपालगन्ज उपमहानगरपालिकाको संयोजनमा भएका थुप्रै सेमिनार, बैठक र छलफलमा छाडा पशुचौपायाको व्यवस्थापनका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाउनुपर्ने सर्वपक्षीय सहमति भएको थियो ।
हालसम्म पनि ती सहमति कार्यान्वयनमा आउन नसक्दा अहिले पनि सडकैभरि पशुचौपायाको भीडभाड देखिँदै आएको छ । नेपालगन्जमा छाडा चौपाया राख्नका लागि काञ्जीहाउस भए पनि यसको उचित प्रयोग हुन सकेको छैन । छाडा चौपाया व्यवस्थापनका लागि ठूलो क्षमताको गौशाला निर्माण गर्नुपर्ने माग पटक–पटक गरिए पनि नगर व्यवस्थापनले त्यसतर्फ ध्यान नदिइएको स्थानीयको गुनासो छ ।
नेपालगन्ज उपमहानगरपालिकाकी उपप्रमुख उमा थापाले निरन्तर यो समस्या समाधानका लागि काम गर्दै आएको जनाउँदै तर पाल्नेहरूको अटेरी र बेवास्ताले समस्या समाधान हुन नसकेको बताइन् । उनले छाडा चौपायालाई काञ्जीहाउसमा पु¥याउने काम पनि निरन्तर जारी रहेको बताइन् ।
।