काठमाडौं । प्रधानमन्त्री केपी ओलीले गराएको प्रतिनिधि सभा विघटनविरुद्ध परेको मुद्दामा सुनुवाई सकिएको छ ।
सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको नेतृत्वको संवैधानिक इजलाशले रिट निवेदक र विपक्षी सरकारतर्फका कानुन व्यवसायी र एमिकस क्यूरी (अदालतका सहयोगी) समेतको तर्फबाट सुनुवाई सकाएको हो ।
सोमबार रिट निवेदक शेरबहादुर देउवासहित १४६ जना सांसदका तर्फबाट जवाफी बहस र एमिकस क्यूरीले आ–आफ्ना धारणा इजलाश समक्ष राखेका थिए ।
सुनुवाई सकिएपछि इजलाशका तर्फबाट प्रधानन्यायाधीश राणाले मुद्दाको अर्को पेशी यही असार २८ गते सोमबारका लागि तोक्नुभएको हो । मुद्दालाई हेर्दाहेर्दैमा राखिएको छ ।
सुनुवाई सकिएपछि आजै फैसला आउनसक्ने आंकलन गरिएको भए पनि राणाले २८ गतेलाई निर्णय सुनाउने/नसुनाउने केही नभनी पेशीको मिति तोक्नुभएको हो ।
प्रधानन्यायाधीश राणा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई रहेको संवैधानिक इजलाशले असार ९ गतेदेखि मुद्दाको सुनुवाई थालेर असार २१ गते सकाएको हो ।
जेठ ८ गते प्रधानमन्त्री ओलीले गराएको संसद विघटनविरुद्ध कांग्रेस सांसद देउवासहित १४६ जना प्रतिनिधि सभाका सांसदले सर्वोच्च अदालतमा रिट निवेदन हालेका थिए ।
देउवासहितका सांसदले जेठ १० मा रिट हालेका थिए ।
।