सूचनाको शक्ति - The Power Of Information

        

ज्वाइँलाई छोरो बनाएर नागरिकता दिएपछि…

घोराही । दाङ जिल्लामा ज्वाइँलाई छोरा भनेर नागरिकताको प्रमाणपत्र दिन कीर्ते काम गरेको आरोपमा वडाध्यक्षसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । कीर्ते नागरिकताको प्रमाणपत्र बनाएको आरोपमा दाङ देउखुरीको राजपुर गाउँपालिका–७ का वडाध्यक्ष भीमबहादुर खड्कासहित भीमबहादुर कामी र उनकी छोरी सुशीला विकलाई प्रहरीले पक्राउ गरेको हो ।

भीमबहादुर कामीले उनका ज्वाइँ अर्जुन बिकलाई छोरा बनाएर नागरिकता दिएका थिए । कीर्ते काममा वडा कार्यालयले पनि सिफारिस गरेको भन्दै पक्राउ गरिएको प्रहरीले जनाएको छ । नागरिकता बनाउँदा अर्जुनको नाम लीलाराम बिक राखिएको छ । अर्जुन बिक सुशीलाका श्रीमान् हुन् । हाल उनी रोजगारीको सिलसिलामा विदेशमा छन् ।

नागरिकतबारे उजुरी परेपछि अनुसन्धान गर्दा कीर्ते काण्ड बाहिर आएको छ । नागरिकता २०७५ साल असोज ४ गते इलाका प्रशासन कार्यालय लमहीबाट जारी भएको थियो । नागरिकतामा ईलाका प्रशासन कार्यालय लमहीका प्रमुख प्रेमबहादुर खवासको हस्ताक्षर छ । भीमबहादुरकी छोरी सुशीला मुख्य मतियारको रुपमा संलग्न भएको पाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २१ असार २०७८, सोमबार ०९:२८