बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले शनिबार दिउँसो नेपालगन्ज उपमहानगरपालिका–७ बाट अबैध भन्सार छलीको रु.८ लाख बराबरको सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले गोप्य सूचनाको आधारमा एमपी स्कुल नजिकै रहेको अरबिन्द पछाईको घरबाट उक्त सामान बरामद गरेको थियो ।
पछाईको घरमा नेपालगन्ज–१५ स्थायी घर भएका मोनु कवडिया कोठा भाडामा बस्दै आएका थिए । उनकै कोठामा लुकाई राखेको अवस्थामा सामान बरामद भयो । भारतबाट अवैधरुपमा भन्सार छली विभिन्न मोटरसाइकल तथा मोटरगाडीका पाठपूर्जा, कपडा, छाता लगायत प्रहरीले बरामद गरेको छ भने प्रहरीले मोनुको खोजी गरिरहेको जनाएको छ ।
बरामद गरिएको उक्त सामान आवश्यक कारवाहीको लागि प्रहरीले नेपालगन्ज भन्सार कार्यालय बाँकेमा पठाइसकेको छ । नेपाल प्रहरीले नेपाल–भारत सीमा नाकाको ६४ किलोमिटर क्षेत्र हेर्नुपर्ने भएकाले कुन नाका भएर अवैधरुपमा उक्त सामान भित्रिएको हो भन्ने एकीन गर्न नसकिने जिल्ला प्रहरी कार्यालय स्रोतले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले शनिबार दिउँसो नेपालगन्ज–७ बाट बरामद गरेको भन्सार छली सामान ।
नेपालगन्ज–१५ स्थायी घर भएका मोनु कवडियाले प्रहरीको सेटिङ्गमा जमुनाहा नाकाबाट उक्त अवैध सामान भित्र्याएको प्रहरी स्रोत बताउँछ । इलाका प्रहरी कार्यालय कम्दीबाट सरुवा भएर जमुनाहाको इन्चार्ज सई सन्तोष खनालले प्रहरी चौकी खडैचाबाट सरुवा भएर आएका असई केशरबहादुर थापालाई सेटिङ्गको चाँजोपाँजो मिलाउँदै आएको स्रोतले जनाएको छ ।
प्रहरी उच्च अधिकारीसँगको पहुँच र सेटिङ्गमा कमाउ अड्डा ताक्ने सई खनाल यसअघि इलाका प्रहरी कार्यालय धामपुर, इलाका प्रहरी कार्यालय कम्दी हुँदै इलाका प्रहरी कार्यालय जमुनाहा पुगेका छन् । उनीसँगै असई थापा प्रहरी चौकी खडैचाबाट इलाका प्रहरी कार्यालय जमुनाहा पुगेलगत्तै उनीहरुकै सेटिङ्गमा तस्करी मौलाउन थालेको छ ।
प्रहरीले शनिबार दिउँसो नेपालगन्ज उपमहानगरपालिका–७ बाट अवैध भन्सार छलीको सामान बरामद गरेपछि तस्करीमा संलग्न मोनु कवडिया र जमुनाहा प्रहरीबीचको सेटिङ्ग खुलेको हो । ३२ बर्षिय मोनुको स्थायी घर नेपालगन्ज–१५ मा हुँदाहुँदै जमुनाहा प्रहरीसँगको मिलेमतोमा अवैध सामान तस्करीकै लागि नेपालगन्ज–७ मा कोठा भाडामा लिएको पनि खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले शनिबार दिउँसो नेपालगन्ज–७ बाट बरामद गरेको भन्सार छली सामान ।
साइगाउँ, हिरमिनिया, खडैचा, जमुनाहा लगायतका नाकाहरुबा अवैध सामान नेपाल भित्र्याउँदै असई थापा सीमा क्षेत्रका ठूला तस्करहरुसँग साँठगाँठ गरिरहेको पनि प्रहरी स्रोत बताउँछ । ‘नेपाल–भारत खुला सीमा भएको तस्करी तथा चोरी निकासी पूर्णतः रोक्न असम्भव छ । तर, सेटिङ्गमै मिलेमतो गर्नु प्रहरी आचरण विपरित हो,’ एक जना प्रहरी अधिकारीले भने ।
‘बिहान ३–४ बजेदेखि नै विभिन्न नाका भएर नेपालगन्जसम्म अवैध सामान भित्रिँदै आएको छ । प्रहरीले लाइन दिएपछि ‘नाइके तस्कर’ले १२–१५ वर्षका बालबालिका र वयस्क व्यक्तिहरुमार्फत साइकलमा अवैध सामान भित्र्याउँदै आएका छन् । यसमा प्रहरीको मिलेमतो नभएर कसरी सम्भव हुन्छ,’ नाम नछाप्ने सर्तमा जमुनाहाका एक जना जानकारले भने ।
उनले तस्करीबारे सीमा क्षेत्रका स्थानीय सबैलाई थाहा छ । ‘तर, प्रहरीले अवैध ओसारपसारमा संलग्न तस्करलाई लाइन दिएपछि स्थानीयहरुको केही चल्दैन । प्रहरीलाई खबर गरिहाले पनि उल्टै हप्की खानुपर्छ,’ उनले भने । सीमा क्षेत्रबाट दिनहुँ खाद्यान्न, लत्ताकपडा, मेसिनरी लगायत नुनदेखि सुनसम्म तस्करी भइरहँदा पनि प्रहरी ‘मूकदर्शक’ बनेको स्थानीयको आरोप छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले शनिबार दिउँसो नेपालगन्ज–७ बाट बरामद गरेको भन्सार छली सामान ।
प्रहरीले कहिलेकाहीँ थोरै मात्रामा सामान बरामद गर्ने गरे पनि मुख्य तस्कर भने अहिलेसम्म समातिएका छैनन् । तस्करहरू प्रहरी अधिकारीसँग ‘लाइन’ मिलाएर निर्धक अवैध कारोबार गर्दै आएका छन् । जमुनाहा प्रहरीले अवैध तस्करीको लाइन दिएकै कारण तस्करहरू लुकेर होइन, देखाएरै तस्करी गर्दै आएको जानकारहरु बताउँछन् ।
इलाका प्रहरी कार्यालय जमुनाहाका इन्चार्ज सई सन्तोष खनालले प्रहरीले लाइन दिएको भन्ने कुरा गलत भएको बताए । उनले सशस्त्र प्रहरीलाई इंगित गर्दै भने, ‘सीमामा हाम्रो भूमिका समन्वयजस्तै हो । सीमामा हुने अपराध, चोरी तस्करी नियन्त्रणमा सशस्त्रको भूमिका धेरै छ । तर सशस्त्रको भूमिका कमजोर छ । हामी एक्लैले कहाँ रोक्न सक्छौं र ?’
मुख्यतः सीमा नाकामा हुने अवैध गतिबिधि र तस्करी नियन्त्रण तथा रोकथाम गर्न सशस्त्र प्रहरीले नसकेकोमा बदनाम छ । नेपाल प्रहरीले पनि तस्करसँग सेटिङ गरी लाइन दिने गरेको आरोप लाग्दै आएको छ । असई थापाकै सेटिङ्गमा नेपाल–भारत सीमा नाकाबाट दिनदहाडै तस्करी मौलाउँदै जान थालेको सीमा क्षेत्रका नागरिकहरुको गुनासो छ ।
नाकाबाट हुने अवैध असुलीको सेटिङ मिलाउन नेमप्लेट नलगाएर ड्युटी बसेका एक जना प्रहरी कर्मचारी ।
बाँकेबाट सबैभन्दा बढी भारत तस्करी हुने मदिरा हो । उत्तर प्रदेशमा मदिरा प्रतिबन्ध भएकाले नेपालबाट यसको तस्करी हुने गरेको छ । मदिरापछि छोगडा, केराउ र मरिच लगायतका समानहरू भारतमा तस्करी हुने गरेको छ । भारतबाट लत्ताकपडा खानेतेल, चिनी, मलखाद, रजनीगन्धा गुट्खा, पाउडर दूध, चप्पल तथा हार्डवेयर लगायतका सामान तस्करी भएर भित्रिने गरेको छ ।
नेपाल प्रहरीसँग सीमामा पर्याप्त जनशक्ति नभएका कारण पनि तस्करले मौकाको फाइदा उठाउने गरेको उनको ठम्याइ छ । त्यसो त इलाका प्रहरी कार्यालय जमुनाहको इन्चार्ज भएलगत्तै सई सन्तोष खनाल विवादमा आइसकेका छन् । उनले जिम्मेवारी सम्हालेको हप्ता दिन नपुग्दै आफ्नो दायित्व र जिम्मेवारी बिर्सन थालेको समाचारहरु बाहिरिएका थिए ।
उनले मातहतका प्रहरी कर्मचारीलाई नेमप्लेट हटाएर ड्युटी गराउन थालेपछि उनी विवादमा तानिएका थिए । नाकाबाट हुने अवैध असुलीको सेटिङ मिलाउँदै उनले नेमप्लेट नलगाएर मातहतलाई ड्युटी गर्न पठाउने गरेको आरोप छन् । पोशाक लगाए पनि नेमप्लेट हटाउन लगाएपछि जमुनाहा गएको एक साता नबित्दै सई खनाल विवादित बनेका थिए ।
अवैध असुलीका क्रममा आफ्नो नाम सार्वजनिक हुने डरले सई खनालले मातहतका प्रहरी अधिकारीलाई नेमप्लेट हटाउन लगाएको आरोप छ । मोटो रकमको सेटिङमा कम्दी प्रहरीको इन्चार्जबाटै सिधै जमुनाह प्रहरीको इन्चार्ज भएर गएका सई खनालले हप्ता दिन नवित्दै सेटिङ मिलाउन थालेपछि अहिले सीमा क्षेत्रमा तस्करी मौलाउन थालेको चर्चा चलेको छ ।
रोजगारीको शिलशिलामा भारत जानेको लाइन । जहाँ रुपैडिहाका ट्राभल्ससँग सेटिङ मिलाएर मिलाएर पठाइन्छ ।
सई खनालको ध्यान कसरी सेटिङ मिलाएर पैसा कुम्ल्याउने भन्नेमा केन्द्रीत हुने गरेको प्रहरीभित्रै चर्चा हुन्छ । उनले रोजगारीको शिलशिलामा भारत जानेहरुबाट रुपैडियाँमा ट्राभल्ससँग कमिशनमा सेटिङ मिलाएर पठाउने गरेको पनि उनीमाथि आरोप छ । जमुनाहा प्रहरीकै कारण नेपाल–भारत आउजाउ गर्ने नेपालीहरु नाकामा घण्टौं लाइन लाग्न बाध्य छन् ।
।