सूचनाको शक्ति - The Power Of Information

        

विचार/टिप्पणी

साँच्चिकै ‘गोल’ !

फुटबलको ‘गोल’ विषुद्ध मैदानमा सिमित रहन्छ भने राजनीतिमा हुने ‘गोल’ले देशलाई नै प्रभावित गर्छ । म यतिबेला बाँकेका ‘लिजेण्ड’ नेता स्व.सर्वज्ञमान श्रेष्ठलाई सम्झन चाहन्छु । उहाँ भन्नुहन्थ्यो, ‘हेर बाबु भन्ने एउटा र गर्ने अर्को दुई ब्यवहार गर्नेहरु राजनीतिमा हावी छन जोगीएर बस्नुपर्छ ।’ उहाँलाई अन्तिम पटक अस्पतालको शैय्यामा भेटेको म स्मरण गर्न चाहन्छु । उहाँहरुको ‘गोल’ देशमा प्रजातन्त्र स्थापना गर्न थियो ।

राजनीति सेवा भावले गर्नेहरुको संख्या कम छ,तर अँझै थुप्रै छन जो राजनीतिलाई सेवा सम्झेर लागि परेका छन् । यतिबेला ‘युरोकप र कोपा अमेरिका’ले फुटवलमय छ दुनियाँ । ईगंलिश कप्तान ह्यारी केनले गएरातिको खेलमा रहिम स्टर्लिङले उपलब्ध गराएको पासमा आकर्षक गोल गरे, लुक शाको फ्रिकिङमा ह्यारी माग्युरले शक्तिशाली हेडमार्फत बललाई जाली चुमाए । इंग्ल्यान्डका लागि जोर्डन हेन्डर्सनले मासन माउन्टले उपलब्ध गराएको बलमा चौथो गोल गरे ।

संसारका आँखा फुटबल हेर्न टेलिभिजन सेटमाथि केन्द्रित हुँदा यता सबैका आँखा न्यायालयमाथि छन् । पटक पटकको संसद भंग गर्ने प्रधानमन्त्रीको ’गोल’ साँच्चिकै ‘गोल’ हो वा ‘सूसाईट–गोल’ भविष्यले बताउँला । हाम्रो देश राजनीतिक तरलताबाट गुज्रिरहेको छ । देशको सबैभन्दा पुरानो दल नेपाली काँग्रेस चौधौं महाधिवेशनको संघारमा छ । सँगै वडादेखि केन्द्रसम्म नयाँ समिकरण बनिरहेका छन् ।

काँग्रेसभित्र यतिबेला नीतिगत तहमा सिद्धान्तमा उति ठुलो बहस देखिँदैन । केवल नेतृत्वमा पुग्ने होडबाजी छ । नेतृत्वमा पुग्ने उत्कण्ठ अभिलाषा रहनु अस्वाभाविक भने होइन । संविधान संसोधन गर्नुपर्ने आवाज नउठेका त होइनन्, तर स्वर धमिलो छ । संघीयता र धर्मनिरपेक्षताका विषयमा काँग्रेसभित्र फरक मत राख्नेहरु पनि छन् । सबैभन्दा महत्वपूर्ण निकाय महासमिति बैठकमा प्रस्तुत भएका मुद्दाहरुमा काँग्रेस गम्भिर भएर अघि बढ्नुपर्छ ।

उता फुटबल दुनियाँमा युक्रेनमाथि उत्कृष्ट जित निकाल्दै इंग्ल्यान्ड २५ वर्षपछि अन्तिम चारमा पुगेको छ । पाँच खेलमा कत्ति पनि गोल नखाएर अन्तिम चारमा स्थान सुरक्षित गरेको इंग्ल्यान्डले अब सेमिफाइनलमा बुधबार डेनमार्कसँग प्रतिस्पर्धा गर्नेछ । कप्तान लिओनल मेसीले एक गोल र डि पाउल, लाउटारो मार्टिनेजको १/१ गोल थप्दा अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार विहान सकिएको खेलमा इक्वेइडरलाई ३–० गोलले पराजित गर्दै अर्जेन्टिना अन्तिम चारणमा पुग्यो । खेलको ८४ मिनेटमा अर्जेन्टिनाले अग्रता दोब्बर गर्न मेसीले दिएको पासमा मार्टिनेजले पेनाल्टी एरियाबाट अदभुत फिनिसिङ गरेका थिए । अब फाइनल प्रवेशका लागि अर्जेन्टिना र कोलम्बियाबीच प्रतिस्पर्धा हुनेछ । यता प्रधानमन्त्री केपी शर्मा ओली र विपक्षी दलका वकिलहरु अदालतमा प्रतिष्पर्धा गरिरहेका छन् । बहसको ‘गोल’ गर्न ।

बहस त एमालेको बैठकमा संघीयता, धर्म निरपेक्षता लगायतका सवालमा आगामी निर्वाचनमा चुनावी ‘गोल’का लागि तयारी गरेको बुझिन्छ । हुँदाखाँदाको लगभग दुई तिहाई दुई पार्टी मिलेर बनेको नेकपा बलियो संगठन यी सबै भताभुङ्ग बनाएर कस्तो ‘गोल’ गर्न अघि बढेका होलान् हाम्रा सम्माननीय ! युरोकप र कोपा अमेरिकासँग नेपाली राजनीति डाईरेक्ट प्रपोशनल होइन । केवल खेल दुनियाँमा रमाउनेहरुका लागी ‘ब्रेक टाईमको’ थोरै ‘चटपटे’मात्रै हो । जय होस् ।

प्रकाशित मिति : २० असार २०७८, आइतवार ११:१०