सूचनाको शक्ति - The Power Of Information

        

पानीका लागि कुवा धाउनुपर्ने बाध्यता हट्यो

सल्यान । यहाँको कुमाख गाउँपालिका–२, डाँडाकटेरीकी ६० वर्षीया टिकादेवी चन्दलाई घरआँगनमै खानेपानी धाराको सुविधा भएपछि खानेपानीका लागि बिहान सबेरै कुवामा पुग्नुपर्ने बाध्यता हटेको छ । डाँडाकटेरी गाउँमा ५५ घरपरिवार रहेका छन् । अहिले यी सबैका घरआँगनमा खानेपानीका धारा जोडिएका छन् ।

पूर्वाधार विकास कार्यालय सल्यानको ५० लाख रुपियाँको लागतमा लिफ्ट प्रविधिबाट यसरी खानेपानीका धारा वितरण गरिएको हो । स्थानीय बासिन्दा तेजबहादुर खत्रीले प्रत्येक घरमा खानेपानीका धारा निर्माण गरेपछि अब सबै ले सुरक्षित र स्वस्थ खानेपानी उपभोग गर्न पाएको बताए । उनका अनुसार यसअघि गाउँमा खानेपानीको निकै समस्या रहेको थियो ।

घरघरमा पानी आएपछि दैनिकी निकै सजिलो भएको छ । पूर्वाधार विकास कार्यालय प्रमुख इञ्जिनियर विनोद पुनले घरघरमा पानीका धारा भएपछि सरसफाइको क्षेत्रमा पनि सुधार आउने आशा गरिएको बताए । उनका अनुसार कार्यालयमार्फत गाउँमा करिब एक करोड रुपैयाँ लागतका चारवटा खानेपानीका योजना सम्पन्न भएका छन् ।

खानेपानी उपभोक्ता समितिका अध्यक्ष शेरबहादुर चन्दले बस्तीभन्दा ३५० मिटर तल रहेको पानी लिफ्ट प्रविधिबाट बस्तीमा वितरण गरिएको जानकारी दिए । दिनमा एक घरपरिवारलाई चार सय लिटर पुग्ने गरी पानी वितरणको व्यवस्था गरिएको उनले उल्लेख गरे ।

प्रकाशित मिति : २० असार २०७८, आइतवार ०९:१४