सूचनाको शक्ति - The Power Of Information

        

कृषिमा बढ्दै आत्मनिर्भरता

बाँकेको ३० हजार हेक्टर खेतमा सिक्टाको पानी

बाँके । बहुप्रतीक्षित सिक्टा सिँचाइ आयोजनाको नहरमा पानी छाडिएपछि बाँकेमा आकाशे पानीकै भर परेर खेती गर्नुपर्ने अवस्था अन्त्य हुँदै गएको छ । सिक्टा सिँचाइ आयोजना नेपालगन्जका प्रमुख लोकबहादुर थापाले आयोजनाका नहरहरूमा पानी छोडिएपछि हाल जिल्लाका ३० हजार हेक्टरमा सिँचाइ सुविधा पुगेको बताए ।

अहिले अधिकांश किसानले वर्षा नकुरेर नै खेती गरिरहेको थापाको भनाइ छ । ‘सिक्टाको पानी अहिले पुराना नालाहरूमा पनि छाडिएकाले किसानले पम्प गरी खेतसम्म लगेका छन् । जसले गर्दा सिक्टाको नहर पुगेका ठाउँका किसानलाई खेतीका लागि पानीको कुनै पनि समस्या छैन,’ प्रमुख थापाले भने ।

सरकारले आगामी दुई वर्षभित्र सिक्टाको पानी लक्ष्यअनुसार किसानको खेतसम्म पुर्याउने नीति लिएको छ । जसअनुसार बजेट पनि विनियोजन गरिएको आयोजनाले जनाएको छ । किसानको खेतसम्म पानी पुर्याउन मूल नहरबाट शाखा, प्रशाखा गरेर ३५ किलोमिटरको यसै वर्ष ठेक्का गर्ने लक्ष्य रहेको प्रमुख थापाले बताए ।

उनले कोभिडका कारण केही ढिलाइ भएको जनाउँदै अहिले सूचना प्रकाशित गरिएको र साउन/भदौमा ठेक्का व्यवस्थापन गरेर कात्तिक/मङ्सिरबाट शाखा, प्रशाखा नहरको काम जोडतोडले सुरु गर्ने लक्ष्य रहेको बताए । ‘कुनै अवरोध नहुने हो भने दुई वर्षभित्र लक्ष्यअनुसार सबै काम सकिनेछ,’ थापाले भने । आयोजनाको निर्माण कार्य आर्थिक वर्ष २०६३/०६४ बाट सुरु भएको थियो ।

बाँकेको अगैयास्थित राप्ती नदीमा बाँध निर्माण गरी बनाइएको सिक्टा सिँचाइ आयोजनाबाट ४२ हजार ७६६ हेक्टर भूमिमा भरपर्दो सिँचाइका लागि पानी उपलब्ध गराउने उद्देश्य रहेको छ । आयोजनाको निर्माणाधीन पश्चिम मूल नहरले बाँके जिल्लाको राप्ती नदीको पश्चिम भेगको ३३ हजार ७६६ हेक्टर जमिनमा सिँचाइ पुर्याउन लक्ष्य लिएको छ भने पूर्वी मूल नहरले राप्ती नदीको पूर्वी भेगको करिब नौ हजार हेक्टरमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य रहेको छ ।

प्रकाशित मिति : २० असार २०७८, आइतवार ०९:०६