सूचनाको शक्ति - The Power Of Information

        

अपराध

निषेधाज्ञामै वन्यजन्तुका अङ्ग तस्करी

बाँके । बाँकेमा जारी निषेधाज्ञाको मौका छोपी संरक्षित वन्यजन्तुको महत्वपूर्ण अङ्गको कारोबार बढेको पाइएको छ । प्रहरीले पछिल्लो दुई दिनमा पाटेबाघ र चरीबाघ (चितुवा)को छालासहित चार जनालाई पक्राउ गरेको छ । गत बिहीबार बाँकेको बैजनाथ गाउँपालिका–४ को तिलकपुरबाट अछाम मेल्लेख गाउँपालिका–३ का डम्बर बुढा र अछाम रामारोशन गाउँपालिका–५ का नन्दु बुढालाई दुई थान पाटेबाघको छालासहित पक्राउ गरिएको हो ।

यसअघि बुधबार दाङबाट नेपालगन्ज ल्याउँदै गरेको चरीबाघको छाला स्कुटरको डिक्कीबाट बरामद गरेको छ । स्कुटरको डिक्कीबाट चरीबाघको छालासहित स्कुटरमा सवार दुई जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । बाँकेको राप्तीसोनारी गाउँपालिका–१, कुसुम बजारबाट प्रहरीले घोराही उपमहानगरपालिका–९ का ३२ वर्षीय सन्तोष कुँवर र भैरवी गाउँपालिका–३, दैलेखका १९ वर्षीय जीतेन्द्र शाहीलाई चरी बाघको छालासहित नियन्त्रणमा लिएको थियो ।

प्रहरीका अनुसार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको अवस्थामा कुँवरले चलाएको रा४प ६५०४ नम्बरको स्कुटर चेकजाँच गर्ने क्रममा डिक्कीभित्र कालो झोलामा राखिएको तीन फिट तीन इञ्च लामो चरी बाघको छाला फेला परेको थियो । उक्त छाला किनबेच गर्ने गरी उनीहरूले नेपालगन्ज ल्याउन लागेको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ । दुवै घटनाको पूर्व सूचना पाएपछि खटिएको प्रहरी टोलीले खानतलासी लिने क्रममा बाघको छालासहित उनीहरुलाई पक्राउ गरिएको बाँकेका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक श्याम अधिकारीले जानकारी दिए ।

एसपी अधिकारीले भने, ‘सबैखालका अपराध नियन्त्रणका लागि प्रहरी टोली सक्रियरूपमा परिचालित छ । अहिलेको अवस्थामा संरक्षित वन्यजन्तु र तिनका अङ्गको चोरी निकासी नहोस् भन्नेमा प्रहरी सदैव सजग छ ।’ यसअघि पनि प्रहरीले पटक–पटक संरक्षित वन्यजन्तुका अङ्गप्रत्यङ्गसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पछिल्लो एक वर्षको अवधिमा पाटेबाघको छालासहित तीन जना वन्यजन्तु तस्कर पक्राउ गरिएको एसपी अधिकारीले बताए ।

चित्तलसहित तीन जना र रेडपान्डाको छालासहित दुई जनालाई पक्राउ गरी आवश्यक कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । विगतमा पनि कोहलपुरमा धेरैपटक चितुवाको छाला र गैँडा तथा हात्तीका महत्वपूर्ण अङ्गहरू बेचबिखन गर्न लागेको बेला प्रहरीले बरामद गरेको थियो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ (१) बमोजिम पक्राउ परेकालाई पाँच लाखदेखि १० लाख रुपैयाँसम्म जरिवाना र पाँच वर्षदेखि १५ वर्षसम्म कैद वा दुवै सजाय हुनसक्ने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २० असार २०७८, आइतवार ०८:४८