सूचनाको शक्ति - The Power Of Information

        

शिक्षा

‘दिवा खाजा’ले बढायो विद्यार्थी

बहाना बनाएर विद्यालय नआउने विद्यार्थी पनि खाजा पाएपछि हौसिएर विद्यालय आउने गरेका छन् । खाजामा एकरुपता र विद्यार्थीलाई विद्यालय ल्याउने कडी बनेको छ खाजा कार्यक्रम ।

बाँके । बाँकेको बैजनाथ गाउँपालिका–४ बानियाभारस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय नौलापुरमा विद्यालयमा दिवा खाजा कार्यक्रमले विद्यार्थीको आकर्षण बढेको छ । हरेक दिन फरकफरक खाजा खान पाउने भएपछि सामुदायिक विद्यालयमा विद्यार्थीहरू नियमित आउन थालेका हुन् । मंसिरदेखि नै आंशिकरूपमा विद्यालय सञ्चालन गरिएको थियो । प्रारम्भीक बाल विकास कक्षादेखि ५ कक्षासम्मका विद्यार्थीलाई दिवा खाजा खुवाउन थालिएको हो ।

त्यसपछि विद्यार्थी भर्ना हुने क्रम झनै बढ्दै गएको विद्यालयका सहायक प्रधानाध्यापक ताराप्रसाद कुँवरले जानकारी दिए । बाल विकासदेखि कक्षा १० सम्म रहेको विद्यालयमा गत वर्ष ३६४ जना विद्यार्थी थिए । दिवा खाजा कार्यक्रम विद्यालयले सुरु गरेपछि यो संख्या बढेर ४०४ पुगेको विद्यालयका सहायक प्रधानाध्यापक कुँवरले बताए । प्रत्येक विद्यार्थीलाई दिनको १५ रुपैयाँ बराबरको दरले दिवा खाजा खुवाउने गरिएको विद्यालयले जनाएको छ ।

सहायक प्रधानाध्यापक कुँवरले भने, ‘झोलाभरि किताब बोकेर विद्यालय जाने विद्यार्थी र अभिभावक दुवैलाई खाजाको चिन्ता हुन्थ्यो, बजारमा पाइने खाजा खान सधैं अभिभावकसँग पैसा नहुने । घरको खाजा विद्यालयमा लैजादा साथीले गिज्याउने । अहिले विद्यार्थी निकै खुशी छन् । न त विद्यालयमा खाने खाजाको चिन्ता छ, न त साथीभाईको भन्दा फरक खाजा हुन्छ की भन्ने चिन्ता । सबै जनाले विद्यालयमा एकैखालको खाजा खान्छन् ।’ विद्यालयमै खाजा पाएपछि विद्यार्थी खुशी भएका छन् ।

‘दिवा खाजा’ कार्यक्रम लागू भएसँगै कक्षामा नियमित उपस्थित हुने र शिक्षण सिकाई क्रियाकलापमा सहभागी हुने विद्यार्थीको रुची बढ्दै गएको छ । यो कार्यक्रम सञ्चालनमा आएपछि विद्यार्थी तथा अभिभावकमा नयाँ उत्साह छाएको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय नौलापुरले जनाएको छ । बहाना बनाएर विद्यालय नआउने विद्यार्थी पनि खाजा पाएपछि हौसिएर विद्यालय आउने गरेका छन् । खाजामा एकरुपता र विद्यार्थीलाई विद्यालय ल्याउने कडी बनेको छ खाजा कार्यक्रम ।

विद्यालयभित्र जङ्कफूड निषेध गर्ने, पहुँचबाहिरका विद्यालय उमेर समूहका बालबालिकालाई विद्यालयप्रति आकर्षण गर्ने, कक्षा बीचमै छाड्ने प्रवृत्तिको अन्त्य गर्दै अन्ततः सिकाई उपलब्धि वृद्धि गर्ने ‘दिवा खाजा’ कार्यक्रमको मुख्य उद्देश्य भएको विद्यालयका सहायक प्रधानाध्यपक कुँवरले बताए । उनले भने, ‘दिवा खाजाको शुरुआतसँगै नियमित विद्यालय आउने विद्यार्थीको सङ्ख्यामा पनि वृद्धि हुँदै गएको छ । विद्यालयको पहुँच बाहिर रहेका र बीचमै कक्षा छाडेर जाने विद्यार्थी पनि पुनः विद्यालयमा फर्कने क्रम बढ्दै गएको छ ।’

कार्यक्रम लागू भएपछि अध्ययनरत बालबालिकाका र अभिभावक नियमित विद्यालय आउने भएकाले पनि विद्यालय र अभिभावकबीच अझै आत्मियता बढेर गएको छ । विद्यालयमा नै शिक्षकहरुको सहभागितामा विद्यार्थीहरुलाई खाजा खुलाउने गरिएको प्रधानाध्यापक कुँवरले बताए । दिवा खाजा खुवाउने कार्यमा शिक्षक तथा कर्मचारीको सहभागिता उत्साहजनक छ । विद्यार्थीलाई हरेक दिन फरक फरक खाजा दिने गरिएको छ ।

जसअनुसार आइतबार दही चिउरा, सोमवार चना भुजा, मंगलवार खीर अचार, बुधवार मासु भुजा, विहीवार खिचडी र शुक्रवार विभिन्न प्रकारका फलफूल दिने गरिएको विद्यालयले जनाएको छ । प्रधानाध्यापक कुँवले भने, ‘खाजा कार्यक्रम नहुँदा विद्यार्थीहरु भोक लाग्यो भनेर टिफिनको समयमा घर जान्थे र फर्कंदैनथे । अहिले उनीहरू पूरा समय विद्यालयमै बस्ने गरेका छन् ।’ यसरी खाजा खाने भन्दै घर जाने विद्यार्थीको संख्या शुन्यमा झरेको विद्यालयले जनाएको छ ।

विद्यालयमा दिवा खाजा कार्यक्रम वडा कार्यालयले केही रकम र विद्यालयको केही रकममार्फत सञ्चालन गरिएको थियो । यसैबीच, सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरी घोषणा गरिएको दिवा खाजा कार्यक्रम अहिले देशभरका विद्यालयहरूमा सुरु गरिएको छ । कोरोना भाइरस न्यून हुँदै भौतिकरूपमा विद्यालय सञ्चालन हुन थालेपछि विद्यालयमा दिवा खाजा सुरु गरिएको हो ।

योसँगै अब सामुदायिक विद्यालयमा अध्ययनरत देशभरका विद्यार्थीले विद्यालयमा खाजा खाँदै पठनपाठन अगाडि बढाउन पाउने भएका छन् । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक गणेश पौडेलले विद्यालयहरू भौतिक रूपमा सञ्चालनमा आएसँगै विद्यालयमा दिवा खाजा कार्यक्रम सुरु गरिएको जानकारी दिए । यसका लागि आवश्यक पर्ने बजेट स्थानीय तहमार्फत उपलब्ध गराइएको छ । केन्द्रका अनुसार एक विद्यार्थीलाई बढीमा १८० दिनका लागि खाजा रकम उपलब्ध गराइनेछ ।

यसका लागि विद्यालयले प्रतिदिन प्रतिविद्यार्थी १५ रुपियाँ खर्च गरी रकम निकासाको माग गरेपछि विद्यालयको खातामा पठाइनेछ । विद्यालयले विद्यार्थीलाई खाजा खुवाएपछि पछिल्लो महिनाको ७ गतेभित्र निकासाका लागि निवेदन दिनुपर्ने प्रावधान बनाएको छ । सरकारी विद्यालयमा गरिब तथा विपन्न वर्गका विद्यार्थीको उपस्थिति धेरै हुने गरेकाले दिवा खाजाले सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ । विद्यालयका बालबालिकाका लागि दिवा खाजा स्वास्थ, शिक्षा, सामानजनक न्याय तथा समानताका पक्षबाट महत्वपूर्ण मानिन्छ । खाजा कार्यक्रमले विपन्न परिवारका बालबालिकालाई विद्यालयप्रति आकर्षण पैदा गर्नुका साथै कम्तीमा प्राथमिक तहको शिक्षा पूरा गर्न प्रेरित गर्ने विश्वास छ । समृद्ध बैजनाथ बुलेटिनबाट

प्रकाशित मिति : २० असार २०७८, आइतवार ०७:४५