सूचनाको शक्ति - The Power Of Information

        

समाचार

प्राकृतिक विपत्तिबाट ३८ जनाको मृत्यु, ५१ घाइते, २४ बेपत्ता

काठमाडौं । अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी पछिल्लो समय ३८ जनाको मृत्यु भएको छ । गत जेठ ३० गतेदेखि शनिबार दिउँसोसम्म मृत्यु हुनेहरूमा २० जना पुरुष, ११ जना महिला, ४ जना बालक र ३ जना बालिका रहेका छन् ।

तीमध्ये सिन्धुपाल्चोकमा ५ जना, डोटीमा ४ जना, रोल्पा र गोरखामा ३/३ जना, चितवन, तनहुँ, प्युठान र रौतहटमा २/२ जना, ललितपुर, खोटाङ, सप्तरी, काभ्रे, धादिङ, सिन्धुली, जुम्ला, अर्घाखाँची, दाङ, पाल्पा, कास्की, कालिकोट, पाँचथर, बझाङ र बाजुरामा १/१ जना रहेका छन् ।

बाढीपहिरो र डुबानमा परी ५१ जना घाइते भएका छन् । तीमध्ये २७ जना पुरुष, १२ जना महिला, ९ जना बालक र ३ जना बालिका रहेका छन् । उनीहरुमध्ये तनहुँमा १० जना, सिन्धुपाल्चोक र रोल्पामा ५/५ जना, खोटाङ, सर्लाही, धादिङ, कास्की, म्याग्दी र डोटीमा ३/३ जना, जुम्ला र गोरखामा २/२ जना, पाँचथर, रौतहट, स्याङ्जा, धनुषा, चितवन, हुम्ला, अछाम, दार्चुला र सल्यानमा १/१ जना रहेका छन् ।

घाइतेहरूलाई स्थानीय अस्पतालमा उपचार गरिएको छ । बाढीपहिरोमा परी २४ जना बेपत्ता भएका छन् । तीमध्ये १५ जना पुरुष, ६ जना महिला, २ जना बालक र १ जना बालिका रहेका छन् । उनीहरुमध्ये सिन्धुपाल्चोकमा २० जना, चितवनमा ३ जना र बाजुरामा १ जना रहेका छन् । बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

बाढी तथा पहिरोमा परेका १ हजार २५० जनाको विभिन्न ठाउँबाट उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये मनाङमा ६५६ जना, चितवनमा ४०२ जना, सिन्धुपाल्चोकमा १२३ जना, दोलखामा ३५ जना, लमजुङ र सल्यानबाट ८/८ जना, जाजरकोटमा ७ जना, गोरखा र दाङमा ४/४ जना र कञ्चनपुरमा ३ जना रहेका छन् । पहिरो तथा बाढीको कारण अवरोध भएका विभिन्न स्थानका सडक प्रहरीसमेतको पहलमा सुचारु गराइएको छ ।

साथै वर्षाको कारण सिन्धुली, धादिङ, काभ्रे, गोरखा, लमजुङ, खोटाङ लगायतका स्थानमा शनिबार पहिरो गई अवरोध भएका सडक पहिरो हटाइ सुचारू गराउने कार्य जारी छ । बाढीको कारण ७९० वटा घर डुबानमा परेका छन् । ५१९ वटा घर, ९० वटा गोठ, ३९ वटा पुल, ३ वटा विद्यालय र ११ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । १ हजार ५७ वटा घरका ५ हजार १०१ जना मानिस विस्थापित भएका छन् भने ८१८ वटा पशु चौपायाको मृत्यु भएको छ ।

उक्त अवधिमा ४०० वटा विपद्का घटना भएका छन् । उक्त घटनाबाट प्रभावित स्थानहरुमा भएको क्षति न्यूनीकरण र उद्दारमा सम्बन्धित प्रहरी कार्यालयबाट प्रहरी कर्मचारीहरु उद्धारमा सक्रियरुपमा संलग्न रहेका छन् । साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा प्रहरीले गरिरहेको छ ।

प्रकाशित मिति : १९ असार २०७८, शनिबार १८:५२