सूचनाको शक्ति - The Power Of Information

        

प्रहरीको सार्थक प्रयास

जिल्लामा घुमुवा हटाएपछि बाँकेका केही प्रहरी अधिकारी र तस्कर तनाबमा

बाँके आएलगत्तै घुमुवालाई गलत काममा प्रयोग गरिएको सुइँको पाएसँगै एसपी अधिकारीले जिल्लाभर खटाइएको सबै घुमुवालाई हटाइपछि तस्करहरुसमेत झस्किएका छन् ।

बाँके । बाँकेमा प्रहरी प्रमूख फेरबदल हुने बित्तिकै आफू अनुकलका घुमुवा खटाएर असुलीधन्दा चलाउने गरेको गुनासो आउँथ्यो । चिया पसलदेखि चौक चौकमा घुमुवामार्फत प्रहरी प्रमूखले अवैध रकम असुलेर कमाउधन्दामा लागेको चर्चा चल्यो । प्रहरी प्रमूख फेरबदल हुने बित्तिकै घुमुवा फेरबदल अनिवार्यजस्तै हुन्थ्यो ।

सामान्यरूपमा बुझ्दा घुमुवा सादा पोशाकका प्रहरी हुन् । उनीहरुलाई गोप्य सूचना संकलन गरेर अपराध नियन्त्रण गर्ने उद्देश्यले राखिए पनि उनीहरु जिम्मेवारी छाडेर महिनावारी असुलीमा सक्रिय हुँदै आउँथे । उनीहरु इञ्चार्जसमक्ष पैसा पुर्याउने विश्वासिलो माध्यम बन्थे । घुमुवा प्रहरी विशेषतः बाँकेमा बढी सक्रिय देखिन्थे ।

किनकी भारतसँग सीमा जोडिएकाले विभिन्न अपराधिक गतिविधिदेखि तस्करी हुन्छ । घुमुवाहरु अपराध कर्मका सूचना संकलनभन्दा अपराध कर्मसँग जोडिएका व्यक्तिसँगै माम खानै व्यस्त हुन्थे । जिल्ला प्रहरी कार्यालयमा एसपीदेखि इन्सपेक्टरसम्मले सूचनाका लागि भन्दै आफ्ना नजिकका व्यक्तिलाई घुमुवाका रुपमा खटाउँथे ।

उनीहरुको काम भने सूचना संकलन नभई रकम असुली र बार्गेनिङ्गमै बित्थ्यो । सीमा नाकाबाट हुने चोरी, तस्करी नियन्त्रणभन्दा असुलीमा उनीहरु केन्द्रीत हुन्थे । विगतदेखि नै बाँकेमा घुमुवा प्रहरीहरुको संरक्षण र हामिकको आडमा सीमा नाकाहरुमा तस्करी बढ्ने गरेको जनगुनासो आउँथे ।

घुमुवामार्फत नै बाँकेमा असुलीधन्दा चलाइरहेको आरोप खेपेका तत्कालिन प्रहरी प्रमूख प्रहरी उपरीक्षक ओमबहादुर रानाको सरुवासँगै बाँकेको कमाण्ड सम्हाल्न आएका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले घुमुवा प्रहरी नै हटाइदिएपछि बाँकेमा कमाउधन्दा चलाउने मातहतका केही प्रहरी अधिकारी र तस्करबीच खैलाबैला मच्चिएको छ ।

पहिलेका प्रहरी प्रमूखले जिल्लामा असुलीधन्दा मच्चाउन सादा पोशाकमा खटाएका घुमुवा प्रहरीलाई एसपी अधिकारीले पोसाकसहित नियमित ड्युटीमा खटाएपछि असुलीधन्दा मच्चाउने मातहतका प्रहरी अधिकारी र तस्करहरु तनावमा छन् । योसँगै घुमुवासँगको मिलेमतोमा हुने तस्करी रोकिएको दावी गरिएको छ ।

एसपी अधिकारीका अनुसार जिल्लाभर खटाइएका ३० जना घुमुवालाई हटाइएको छ । ‘इमरजेन्सी अवस्थामा बाहेक अब जिल्लामा सादा पोशाकमा प्रहरी परिचालन हुने छैनन्,’ एसपी अधिकारीले भने । घुमुवा हटाएपछि सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रणमा ठुलो सघाउ पुगेको प्रहरीको भनाई छ ।

विगतमा घुमुवासँगको मिलेमतोमा तस्करी हुने गरेको, घुमुवामार्फत रकममा हुने बार्गेनिङ्ग रोकिएको छ । प्रहरी कार्यालयको नेतृत्व गरेका अधिकारीले आफू निकटका अधिकारीलाई घुमुवा राखेर अनुकुलता अनुसार प्रयोग गर्दा उनीहरु बदनाम हुँदै आएका थिए । घुमुवा प्रहरीको खेती भनेकै असुली बन्थ्यो ।

बाँके आएलगत्तै घुमुवालाई गलत काममा प्रयोग गरिएको सुइँको पाएसँगै एसपी अधिकारीले जिल्लाभर खटाइएको सबै घुमुवालाई हटाइपछि तस्करहरुसमेत झस्किएका छन् । तस्करहरु तस्करीको लाइन खोज्दै भौतारिएका छन् । यसअघि प्रहरी प्रमूखकै निर्देशनमा बाँकेमा घुमुवा प्रहरी बढी सक्रिय देखिन्थे ।

उनीहरु अपराध कर्मसँग जोडिएका व्यक्तिहरुसँगै माम खानै व्यस्त हुन्छन् । कतिपय अवस्थामा भने घुमुवा प्रहरीले हाकिम र अपराधी दुवै पक्षसँग डिल गर्ने गरेका थिए । पहिले जिल्ला हुने अपहरणका घटनाबारे घुमुवा प्रहरीलाई अग्रिम जानकारी हुन्थ्यो । पैसा जताबाट आउँथ्यो उनीहरु त्यतै लाग्थे ।

‘राम्रो हाकिम आउँदा अपराध अनुसन्धान र सूचना संकलन गर्न मात्र लगाउँथे,’ एक जना तत्कालिन घुमुवा प्रहरीले भने, ‘तर, केही चाहिँ आउने वित्तिकै कहाँकहाँबाट पैसा उठाउने गरेको छ भनेर सोध्थे । अहिले आउनुभएका एसपी साबले सबैलाई हटाएपछि पोशाकसहित आ–आफ्नो ड्युटीमा खटिएका छौं ।’

घुमुवासँग आजित भएका नेपालगन्जका एक जना व्यवसायीले भने, ‘एसपी साबको निर्णय एकदमै सही छ । घुमुवाहरु असुलीमा संलग्न हुने गरेको हाकिमलाई थाहा भए पनि कमिशनको चक्करमा घुमुवाको संरक्षण हुन्थ्यो । अब त्यस्तो नहोला ।’ उनले हालका प्रहरी प्रमूखको निर्णयले घुमुवा प्रहरीको आचरण र व्यवहार सुधार हुने बताए ।

प्रकाशित मिति : १९ असार २०७८, शनिबार १४:४३