सूचनाको शक्ति - The Power Of Information

        

समाचार

जनप्रतिनिधि र कर्मचारीले छाडा गाईगोरु तस्करी गर्न खोजेको आरोप

देवस्थल (सल्यान) । जिल्लाको बनगाड कुपिण्डे नगरपालिकाका स्थानीयहरु छाडा चौपायाका कारण सास्ती भोग्दै आएका छन् । पाकेर काट्नै लागेको गहुँ बाली तथा तरकारी खेती गाई, गोरुले खाएर बाँझो खेतजस्तै बनाइदिने गरेका कारण उनीहरु सास्ती भोग्दै आएका हुन् ।

‘अब त छाडा चौपायाले धेरै दुःख दिन थाले, यिनलाई स्थानीय सरकारले व्यवस्थापन गर्नुपर्छ,’ स्थानीयहरु भन्छन्, ‘गाइगोरुको न्यायोचित व्यवस्थापन नगरेर नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरु रमिते बनेका छन् ।’ यहाँको काञ्जिहाउस बनाएर छाडा चौपायाको व्यवस्थापन गर्न स्थानीयहरुको माग छ ।

बनगाड कुपिण्डे नगरपालिका–१ अम्राका स्थानीय बालकृष्ण बुढाले भने, ‘छाडा चौपायालाई व्यवस्थापन गर्न नगरपालिकाले काञ्जिहाउस बनाउनुपर्छ, जसले गर्दा यहाँको समस्या समाधान हुनेछ । तर, जनप्रतिनिधि र कर्मचारीलाई किसानका दुखप्रति चासो छैन । उनीहरु रमिते बनेर बसेका छन् ।’

गाईले दूध दिन छोडेपछि छाडा छाडिएका पशु चौपायाका कारण नगरपालिकाको नं.१ का आम्रा, घाटगाउँ, बुरेली, देवस्थल, बस्नेउरा, खहरेखोला, माल्पे तथा वडा नं.४, ५ र ६ का अधिकांश गाउँका किसानहरुले खेतबारीमा लगाएको तरकारी तथा अन्नबाली सखाप पारेको स्थानीयहरु बताउँछन् ।

दुखले गरेको खेती सधैं छाडा पशु चौपायाले खाइदिने गरे पनि नगरपालिकाले त्यसको व्यवस्थापन चासो नदेखाएको स्थानीयको आरोप छ । ‘दुहुनो गाई छउन्जेल घरमा पाल्ने र दूध खाने, दूध दिन छाडेपछि बजारमा छोड्ने परिपाटीले समस्या भएको छ,’ उनले भने, ‘गाई छोड्नेलाई कारवाही हुनुपर्छ ।’

यो पनि पढ्नुस् :

बनगाड कुपिण्डे नगरपालिकामा किन थुनिए छाडा पशु चौपाया ? (फोटो तथा भिडियोसहित)

जनप्रतिनिधि, कर्मचारी र तस्करहरुको मिलेमतोमा गाईगोरु तस्करीको योजना अनुसार छाडा पशु चौपायाको व्यवस्थापनमा स्थानीय सरकारले चासो नदेखाएको स्थानीयहरुको आरोप छ । एक जना स्थानीयले भने, ‘जनप्रतिनिधि, कर्मचारी र केही तस्करहरुको मिलेमतोमा गाईगोरु तस्करी गरेर कमाउधन्दा गर्न खोजिएको छ ।’

तर, जनप्रतिनिधि तथा कर्मचारीहरुले भने गाईगोरु तस्करी गर्न लागिएको भन्ने कुरा निराधार आरोप भएको बताए । नाम नखुलाउने सर्तमा एक जना कर्मचारीले भने, ‘छाडा पशु चौपायाको व्यवस्थापन गर्न सकिएको छैन । तर, तस्करी गर्न लागेको भन्ने आरोपमात्रै हो, यसमा सत्यता छैन ।’

छाडा पशु चौपायालाई कसरी व्यवस्थापन गर्न सकिन्छ नगरपालिका आन्तरिक छलफलमा जुटेको पनि ती कर्मचारीले बताए । स्थानीयले भने छाडा पशु चौपायाको व्यवस्थापनमा नगरपालिकाले चासो नदेखाएको भन्दै शुक्रबार मात्रै बनगाड कुपिण्डे नगरपालिकाको कार्यालयमा १५० बढी गाईगोरु लगेर थुनेका थिए ।

नगरबासीले छाडा पशु चौपायालाई नगरपालिका कार्यालयमै थुनेर व्यवस्थापनको माग गरेका छन् । चार बर्षदेखि छाडा पशु चौपायाको व्यवस्थापनमा नगरपालिकाले चासो नदेखाएको भन्दै आक्रोशित छन् । यस विषयमा कुराकानी गर्न खोज्दा नगरपालिकाका मेयर गोविन्दकुमार पुनसँगको सम्पर्क प्रयास सफल हुन सकेन ।

छाडा पशु चौपायको उचित व्यवस्थापन नगरिँदा किसानहरुले लगाएको अन्नबाली सखाप हुनुका साथै रोपाइँका बेला धानको ब्याड नष्ट गरिदिएको पनि किसानहरु बताउँछन् । आफुहरुले दुखले गरेको खेती सधैं छाडा पशु चौपायाले खाइदिने गरेको र त्यसको व्यवस्थापन गरिदिन स्थानीयको माग छ ।

प्रकाशित मिति : १९ असार २०७८, शनिबार ०९:३७