सूचनाको शक्ति - The Power Of Information

        

मौसम पूर्वानमान महाशाखा

मनसुन सक्रिय भएसँगै लगातार वर्षा, आज दिनभर यस्तो रहने छ मौसम

तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह

काठमडौं । मनसुन सक्रिय भएसँगै देशका अधिकांश स्थानमा बिहिबारदेखि लगातार वर्षा भइरहेको छ ।

आज (शनिबार) पनि प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाकाअनुसार केही ठाउँमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ । धेरै ठाउँमा रातिदेखि नै झरी परिरहेको छ ।

प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै ठाउँमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा दिनभरि नै हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै राति प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै ठाउँमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज राति पनि प्रदेश १, प्रदेश २, वाग्मती र गण्डकी प्रदेशका थोरै ठाउँमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाकाअनुसार अझै तीन दिन पानी पर्ने र रोकिने क्रम चलिरहने छ । पहाडी भेगमा पहिरोका साथै नदीनाला तथा खहरे खोलाहरुमा बाढी आउन सक्ने भएकाले सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

रातिदेखिको पानीले तनहुँको बिमल नगरमा मर्स्याङ्दी नदी र मकवानपुरको रजैयामा पूर्वी राप्ती नदीले सतर्कता तह पार गरेको छ ।

यी नदीहरुमा पानीको बहाव बढ्दो क्रममा रहेकाले सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

यसैगरी गोरखा, लमजुङ, मकवानपुर, झापा, सुनसरी, सिन्धुली, बारा लगायतका ठाउँमा पनि ठूलो पानी परिरहेकाले ती ठाउँका नदी खोलामा बाढी आउन सक्ने भन्दै महाशाखाले सचेत गराएको छ ।

तटीय क्षेत्रहरु र डुबान भइरहने होचा ठाउँमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

प्रकाशित मिति : १९ असार २०७८, शनिबार ०९:२९