सूचनाको शक्ति - The Power Of Information

        

एमालेको साख गिराएर ध्वस्त पार्न खोजियो– प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई जनताको बीचमा साख गिराएर ध्वस्त पार्न लागिएको पनि बताउनुभएको छ ।

शुक्रबार नेकपा(एमाले)को केन्द्रीय कमिटीको बैठकमा बोल्दै ओलीले आफ्नै पार्टीको सरकार ढालेर प्रमुख प्रतिपक्षी दलको नेतृत्वमा सरकार बनाउनका लागि संसदीय अभ्यास र दलीय अनुशासनलाई समेत उल्लंघन गर्ने काम भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो पार्टीको साख जनताको बिचमा गिराउन खोज्ने, हाम्रो पार्टीको मर्यादा ध्वस्त पार्न खोज्ने त्यस्ता काम हुने गरेका छन् ।

आफ्नो पार्टीको सरकार ढाल्ने र प्रमुख प्रतिपक्षी दलका नेतृत्वमा सरकार बनाउने जस्ता लोकतन्त्र, संसदीय अभ्यास, दलीय प्रणाली, दलीय अनुशासनको उल्लंघन गर्ने र अराजकताको स्थिति सिर्जना गर्ने त्यस्ता खालका कामहरु पनि भइरहेका छन् ।’

प्रधानमन्त्री ओलीले निषेधाज्ञालाई तोडेर राजनीतिक दलहरू पुत्ला दहनमा लागेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो कर्तव्य पालना गरिरहेको जिकीर गर्दै राष्ट्रपतिमाथि निकृष्ट तहमा ओर्लिएर गाली गलौज, अपमान र झुटा लाञ्छनाहरू लगाएर समाजलाई असभ्य बनाउन खोजिएको टिप्पणी गर्नुभयो ।

प्रधानमन्त्री ओलीले देशभित्रको प्रगतिशील शक्तिलाई बदनाम गर्न र कमजोर पार्नका निम्ति अनेक खालका प्रयासहरू भइरहेको बताउनुभएको हो । उहाँले देशलाई अनुशासनहीन, उश्रृङ्खल र सामाजिक सभ्यताहरूको उल्लंघन गरेर स्तरहीन प्रवृत्तितर्फ धकेल्न खोजिएको बताउनुभयो ।

‘अनुशासन उल्लंघन गर्नुलाई बहादुरी ठान्ने, संगठित तवरले आन्दोलन घोषणा गर्ने, निषेधाज्ञा तोड्ने, उल्लंघन गर्ने प्रवृत्ति बढेको छ । राजनीतिक मुद्दालाई अदालततिर पठाइएको उल्लेख गर्दै उहाँले जनतामा जान नदिने प्रयासहरू भइरहेको टिप्पणी गर्नुभयो ।

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार १६:२६